आफ्नै दाजुको हत्या गर्ने भाइसहित १५ वर्षीय किशोर पक्राउ


खोटाङ । आफ्नै दाजुको हत्या गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित काँडेका २३ वर्षीय भाइ नारायण थापा र स्थानीय १३ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो घरबाट हिडेका दाजु ३३ वर्षीय गिरिराज थापालाई घर नजिकै सल्लाघारीमा हत्या गरेर फालेको आरोपमा भाइ नारायणसहित किशोरलाई प्रहरीले गएराति उनीहरुको घरैबाट पक्राउ गरेको हो ।

स्थानीय बासिन्दाले खाजी गर्नेक्रममा सल्लाघारीमा फेला पारेको गिरिराजको शव घर ल्याएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालसहितको प्रहरी टोली बिहीबार बिहान १ः २० बजे घटनास्थल पुगेको थियो ।

मृतक थापाको घाटीमा निलडाम रही शङ्कासपद अवस्थामा शव भेटिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान गर्नेक्रममा मृतक थापालाई भैँसी बाँध्ने डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।

दाजुभाइबीचको घरायसी विवादका कारण भाइले किशोरसँग मिलेर दाजुको हत्या गरेको हुन सक्ने प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेका उनीहरु दुवैजनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत खोटाङबाट पाँच दिनको म्याद थप गरिएको जनाइएको छ ।

उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रमुख प्रहरी नायव उपरीक्षक लम्सालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment