मनसुन फेरि सक्रिय : रातिदेखि नै देशभर बर्षा, बाढी र पहिरोको खतरा बढ्यो


नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो ।

गए रातिदेखि नै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश-१, वागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, प्रदेश-२, वागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहँदा धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा बढेको छ । मौसमविद्का अनुसार यसपटक तराईमा केही दिन अधिक भारी वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी लुम्बिनी क्षेत्र आसपासका जिल्लाहरुमा केही दिनदेखि नै लगातारको वर्षा भइरहेको छ । यस्तै, पहाडका केही भूभागमा पनि भदौरे झरीसहितको भारी वर्षा हुने सम्भावना छ । त्यसले बाढी र पहिरो निम्त्याउन सक्ने भएकाले सतर्क रहन भनिएको छ ।

गण्डकी, बागमती तथा सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षाको आकलन गरिएको छ । केही दिनयताको मनसुनी सक्रियताले देशका धेरै स्थानमा एक सय मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भदौरे झरीका कारण कोसी, नारायणीलगायतका ठूला तथा साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

त्यस्तै पहाड हुँदै बग्ने कर्णाली, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायतका नदीको बहाव पनि सतर्कता तहभन्दा माथि हुने जनाइएको छ । तराई छोएका कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, राप्ती, बबईलगायतका ठूला नदीमा बहाव बढ्दा त्यहाँका बस्ती डुबानमा पर्ने सम्भावना रहेको औँल्याइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment