देउवा सरकारमा मन्त्री बन्नेहरुको पूर्ण ‘लिस्ट’ तयार : कस्लाई कुन मन्त्रालय (सूचीसहित)

 

काठमाडौं । सर्वाेच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई आज साँझ पूर्णता दिन लागेका छन् ।

मन्त्रिपरिषद्मा सत्ता गठबन्धनका पाँच दलमध्ये ४ दल सहभागी हुँदै छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जनमोर्चा भने सरकारमा सामेल नहुने भनिसकेको छ ।

साँझ विस्तार हुने मन्त्रिपरिषद्मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजावादी पार्टी नेपालबाट मन्त्रीहरु सामेल हुँदैछन् ।

प्रधानमन्त्री देउवाले आफूसँग ८ मन्त्रालय, माओवादीलाई ५, नेकपा एस र जसपालाई ४/४ मन्त्रालय दिएका छन् । साथै, देउवाले यसअघि मन्त्री बनेकाहरु जिम्मेवारी हेरफेर पनि गरेका छन् ।

कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाइदैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा प्रधानन्यायाधीशका ेठान गजेन्द्र हमाललाई सिफारिस गरिएको छ ।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई भने प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तान्ने प्रधानमन्त्री देउवाको सोच छ ।

यसैगरी दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री, गृह मन्त्रीमा बालकृष्ण खाँण र परराष्ट्रमन्त्रीमा नारायण खड्का यथावतै रहने भएका छन् ।

माओवादीबाट अर्थ मन्त्रालयमा जनार्दन शर्मा र ऊर्जा मन्त्रालयमा पम्फा भुसाल यथावतै रहनेछन् भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा देवेन्द्र पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा शशि श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालयमा महेश्वर गहतराजलाई जिम्मेवारी सुम्पिएको छ ।

जसपाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेणु यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राजेन्द्र श्रेष्ठ, वन तथा वातावरण मन्त्रीमा रामसहाय यादव र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा प्रमोद साह यादवलाई जिम्मेवारी दिइएको छ ।

नेकपा एसबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकास मन्त्रीमा प्रेम आले, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा र स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङलाई जिम्मेवारी दिइएको छ ।

न्युज२४ नेपालबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment