कांग्रेस महाधिवेशन : नीतिगत बहसभन्दा नेतृत्वकै चर्चा

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन ।

केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहे पनि महाधिवेशन हुँदै निर्वाचनमा जनताका बीचमा जाँदा लिने नीतिगत मुद्दाका विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल प्रारम्भ नै गरिएको छैन ।

महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो पक्ष बलियो बनाउन विभिन्न समूहगत बैठक, लन्च तथा डिनर मिटिङ दैनिकजसो चलिरहे पनि पार्टीले तय गर्नुपर्ने राजनीतिक, आर्थिक, साङ्गठनिक नीतिका विषयमा भने नेताहरूको ध्यान नै पुग्न सकेको छैन ।
पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत पार्टीको आसन्न केन्द्रीय समिति बैठकले महाधिवेशनका लागि आवश्यक नीतिगत पक्षमा निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

महाधिवेशनमा नीति र नेतृत्व दुवैको निर्वाचन एकै पटक भएकाले धेरैको ध्यान नेतृत्व चयनमा पुग्ने भएकाले नीतिगत बहस ओझेलमा पर्ने गरेको उहाँ स्वीकार गर्नुहुन्छ ।
उहाँले यस पटक पनि विगतजस्तो राजनीतिक, आर्थिक साङ्गठनिक सबै खालको प्रतिवेदन पार्टीले तयार पारी महाधिवेशनमा प्रस्तुत गरिने जानकारी दिनुभयो । पार्टीको महासमिति बैठकमा बरु नीतिगत बहस चर्को रूपमा हुने गरेको उहाँ बताउनुहुन्छ ।

महासमिति बैठकमा निर्वाचन नहुने भएकाले नीतिगत बहस प्रभावकारी खालको हुने गरेको अनुभव नेताहरूको छ । विगतजस्तो सरोकारवालाहरूसित राय सुझाव लिने तथा जिल्ला जिल्लासम्म पार्टीका विभिन्न प्रतिवेदनका विषयका बहस गरिने सम्भावना यस पटक न्यूून रहेको जनाइएको छ ।

पार्टीका नेताहरूका अनुसार महाधिवेशनको केही महिनाअघि नै पार्टीले लिने राजनीतिक, आर्थिक तथा साङ्गठनिक दस्तावेज तयार पारी विभिन्न चरणमा छलफल भइसकेको हुनुपर्ने हो । विगतका महाधिवेशनमा यस खालको अभ्यास गर्ने गरिएको भए पनि यस पटक कुनै छनक नदेखिएको काँग्रेसका काभ्रेका सभापति मधु आचार्य बताउनुहुन्छ ।

महाधिवेशन आउनुअघि विभिन्न नीतिगत विषयमा समितिहरू बनाएर जिल्ला जिल्लामा सुझाव लिने परम्परा विगतको महाधिवेशनमा थियो । तर यसपटक त्यसको अभाव देखिएको उहाँ बताउनुहुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment