इलामका बालबालिकामा वान्ता र झाडापखाला फैलिँदै


इलाम, २५ फाल्गुनः  सातायता सदरमुकाममा बिरामी बालबालिकाको संख्या बढेको छ। एकै किसिमको लक्षण देखिने बिरामीमा सबैभन्दा बढी संख्या बालबालिकाको देखिएको हो।  
लगातार बान्ता हुने, पेट ढुस्स हुने र झाडापखाला लाग्नेजस्ता लक्षण बिरामीमा देखिएको छ। १० वर्षभन्दा मुनिका बालबालिकामा सातायता यस्तो बिराम देखिएको इलाम अस्पतालले जनाएको छ। अस्पतालको आकस्मिक सेवाका इन्चार्ज टीका लुइँटेलका अनुसार सातायता यस्ता बिरामी धेरै आइरहेका छन्। ‘करिब ७ दिनयता बिरामी बालबालिका बढी संख्यामा अस्पताल आएका छन्,’ उनले भने, ‘बिरामीमा पेट दुख्ने, पखाला लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, पेट दुख्ने र बान्ता हुने लक्षण देखिएको छ।’ 
उनका अनुसार रगत, पिसाबलगायत जाँच गर्दा चाहिँ कुनै समस्या नदेखिने गरेको छ।  यही लक्षण देखिएका १५ देखि २० बिरामी दिनहुँ अस्पताल आइरहेको उनले बताए। ‘के कारणले धेरै बिरामीमा एउटै लक्षण देखियो भन्ने यकिन कारण चाहिँ खुलेको छैन,’ लुइँटेलले भने, ‘तर, खानपान र मौसम परिवर्तनको कारणले पनि यस्तो भएको हुनसक्छ।’ सुरुमा जिउ दुख्ने, पखाला लाग्ने र बान्ता हुने, त्यसपछि बिरामीलाई पेट दुख्ने र अरू लक्षणले बढी सिकिस्त बनाउने गरेको देखिएको उनले जनाए। सुरुमै अस्पताल आउने बिरामी ३/४ दिनसम्ममा निको हुँदैगरेको उनको भनाइ छ।  
यसको औषधि यही हो भन्ने नभएकाले सरसफाइमा ध्यान दिने, जीवनजल खुवाउने र झोलिलो पदार्थ बढी पिउनुपर्ने उनको सुझाव छ। लुइँटेलले १० वर्षभन्दा कम उमेरका बालबालिका यो लक्षणबाट बढी प्रभावित भएको तर त्योभन्दा बढी उमेरका मानिसमा पनि लक्षण भने उही देखिएको जनाए।  
इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले सदरमुकाम क्षेत्रमा यस्ता बिरामीको संख्या धेरै देखिएको बताइन्। तर, के कारणले एक्कासि बालबालिका बिरामी भए भन्नेबारे थाहा हुन नसकेको उनको भनाइ छ। ‘बान्ता र झापखालाका बिरामी, त्यसमा पनि बालबालिकामा यो समस्या देखिएको थाहा पाएर कारण पत्ता लगाउन खोजेका छौं,’ उनले भनिन्, ‘अस्पतालसँग समन्वय र सोधीखोजी गर्दा पनि बिरामी हुनुको कारण चाहिँ खुल्न सकेको छैन।’  
उनले पनि खानपान र मौसमकै कारण बिरामीको संख्या बढेको हुनसक्ने अनुमान गरिन्। इलाम अस्पतालमा सदरमुकामबाहिरका गाउँबाट पनि यस्ता बिरामी फाट्टफुट्ट अस्पताल आइरहेका छन्। तर, इलाम बजार क्षेत्रकै बालबालिका बढी बिरामी भएको अस्पतालले जनाएको छ।  
चिकित्सकका अनुसार मौसम परिवर्तनका बेला मानिसमा देखिने यो लक्षणलाई ‘एक्युट भाइरल ग्यास्ट्रो इन्टेराइसिस’ भनिन्छ। इलाम अस्पतालका चिकित्सक डा.डालिम काफ्लेले यो एक किसिमको भाइरल नै भएको बताए। यसमा किटाणु नै चिनेर उपचार गर्नुपर्छ भन्ने नभएको र लक्षणअनुसार नै उपचार गर्नुपर्ने उनको भनाइ छ। 
उनले यस्तो लक्षण कुनै जीवाणुका कारण पनि देखिन सक्ने बताए।  ‘भारइलमा औषधि नै यही हुन्छ भन्ने यकिन पनि हुँदैन, लक्षणअनुसार औषधि चलाउनुपर्ने हुन्छ,’ उनले भने, ‘यो अवस्थामा प्रसस्त पानी पिउने, झोलिलो पदार्थ खानुपर्छ, नत्र जलवियोजनको समस्या हुन सक्छ।’ सामान्य लक्षण भएमा जुस, पानी पिउने, अलि बढी भए जीवनजल पिउने र त्योभन्दा बढी भए औषधि खाने, अस्पताल जानुपर्ने उनले बताए।  
भाइरलका कारण हुने बिरामीमा रगत, पिसाबलगायत जाँच गर्दा कुनै समस्या स्पष्ट चाहिँ नदेखिन पनि सक्ने उनले जनाए। ‘सम्भावित लक्षण देखिएपछि अरू कुनै समस्याको कारण खोज्न रगत, पिसाब जाँच गरिन्छ,’ उनले भने, ‘तर, त्यसरी गरिएको जाँचमा कुनै समस्या नदेखिन पनि सक्छ।’  
उनले भाइरल पानीबाट सर्ने, व्यक्तिबाट व्यक्तिमा सर्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने सुझाए। एउटै लक्षण धेरै व्यक्तिमा देखिनुको कारण पानीको स्रोत पनि हुनसक्ने काफ्लेले बताए। ‘पानी उमालेरमात्र पिउनुपर्छ, हात राम्ररी धुनुपर्छ र सेनिटाइजरसमेत प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘सरसफाइमा ध्यान नदिए भाइरल छोटो अवधिमै धेरै फैलिने खतरा हुन्छ।’
नागरिक न्युजबाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment