झापा गोल्डकप तयारी पूरा, दुई महिना लगाएर मैदान बनाइएको छ, घाँस उमारिएको छ 


बिर्तामोड, फाल्गुन १९ — झापा गोल्डकप फुटबलको तयारी पूरा भएको छ । शनिबार सुरु हुने गोल्डकपका लागि टिम व्यवस्थापन, मैदान, प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको आयोजक झापा गोल्डकप समितिले जनाएको छ ।



पाँचौं संस्करणको गोल्डकप फागुन ३० सम्म चल्नेछ । गोल्डकपका लागि करिब दुई महिना लगाएर मैदान बनाइएको छ । मैदानमा खेलाडीलाई सहयोग पुग्नेगरी घाँस उमारिएको छ । करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ । बजार सरसफाइ तथा स्वागत द्वारले बिर्तामोडलाई सिँगारिएको छ ।
गोल्डकपमा यस वर्ष घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, थ्रीस्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी हुनेछन् । गोल्डकपमा दुई विदेश टिम एम. एफसी दार्जिलिङ र आरपी एफसी सिक्किमसहित १० टिम सहभागी हुने गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए । शनिबार उद्घाटन खेल सातदोबाटो र जावलाखेल युथबीच हुनेछ ।
प्रतियोगिताका सबै खेल बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । गोल्डकपमा पुरस्कार अघिल्लो वर्षकै कायम गरिएको छ । यसपालि पनि गोल्डकप विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
गोल्डकपका सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई जनही २१ हजार तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचले ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गर्नेछन् ।
आयोजक समितिले पहिलो पटक प्रतियोगिताको मस्कट, गीत र नारा सार्वजनिक गरेको छ । गोल्डकपको औपचारिक मस्कटमा हात्तीको छावा प्रतिनिधित्व गराइएको छ । हात्तीको छावाले फुटबल प्रहार गर्दै गरेको प्रतीकलाई गोल्डकपको मस्कटका रूपमा तयार गरिएको हो । झापा हात्ती प्रभावित जिल्ला हो । हात्तीबाट जिल्लावासीलाई पीडामात्र नभई पहिचान खोज्नुपर्ने भन्दै छावालाई मस्कटमा प्रयोग गरेको गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । मस्कट प्राज्ञ पवन राजवंशीले तयार गरेका हुन् ।
जिल्लाको भूगोल र झापामा फुटबलप्रतिको लगाव समेट्दै गोल्डकपको छुट्टै गीत समेत तयार गरिएको छ । झापालाई फुटबलको ‘हब’ का रूपमा विकास गर्नेगरी सबै पक्ष समेटेर गीत तयार गरेको बस्नेतले बताए । गोल्डकपको गीत वसन्त थाम्सुहाङले रचना गरेका हुन् । गायक डम्बर नेपाली, भिषण मुकारुङ, सुनीता थेगिम र दीपा लामाले स्वर दिएको गीतमा पारस मुकारुङले संगीत भरेका छन् । गोल्डकपको यस वर्षको नारा ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ तय गरिएको छ ।
कोभिड–१९ का कारण दुई वर्षदेखि झापा गोल्डकप हुन सकेको थिएन । मोफसलकै लोकप्रिय मानिएको झापा गोल्डकपको पाँचौं संस्करण सम्पन्न गर्न करिब एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने बस्नेतले बताए । काठमाडौंबाहिर सबैभन्दा बढी फुटबल गतिविधि झापामा हुने गरेको आयोजक समितिको दाबी छ । जिल्लालाई फुटबल ‘हब’ मा विकास गराउन तथा देश विदेशमा चर्चा कमाएको झापा–११ फुटबल क्लबको विकास र प्रवर्द्धनका लागि २०७२ देखि झापा गोल्डकप सुरु गरेको गोल्डकपका परिकल्पनाकार तथा निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment