झापा गोल्डकपको फाइनल: त्रिभुवन आर्मी उपाधि रक्षाका लागि मैदान उत्रने


इलाम, ३० फाल्गुनः  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा आज झापा–११ र त्रिभुवन आर्मी उपाधि रक्षाका लागि मैदान उत्रने भएका छन् ।
तीन पटकको उपाधि बिजेता विभागीय टोली त्रिभुवन आर्मी क्लव उच्च मनोवलका साथ झापा–११ विरुद्ध मैदान उत्रदैछ भने घरलु दर्शक र घरेलु खेल मैदानको साथ पाएको झापा–११ ले आर्मीसँग बदला लिएरै छाड्ने नयाँ रणनीतिका साथ मैदान उत्रने भएको हो । यसअघि तीन पटकसम्म आर्मीलाई उपाधि सुम्पिएको झापा–११ ले यसपटक आर्मीलाई रोक्दै उपाधि हत्याउने दाउमा देखिएको छ ।
यता त्रिभुवन आर्मी क्लवले पनि झापाको खेल मैदानलाई घरेलु मैदान सम्झिएर उपाधि हत्याउने दाउमा रहेको छ । ‘हाम्रो लागि झापाको खेल मैदान घरेलु जस्तै बनिसक्यो’ –आर्मीका प्रशिक्षक नवीन न्यौपाने भन्छन्– ‘यस पटक पनि उपाधि हामीले नै लिएर जाने हो ।’
यता झापा–११ ले विगतमा भएका कमी–कमजोरी सुधार गर्दै यसपटक उपाधि रक्षा गरेरै छाड्ने झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले बताए ।
आइतबार बिर्तामोडस्थित होटल किङ्सबेरीमा भएको प्रि म्याच कन्फ्रेन्समा झापा–११ र त्रिभुवन आर्मी दुबै टिमले उपाधि आफ्नै हातमा पर्ने दाबी गरेका छन् । प्रि म्याच कन्फ्रेन्समा झापा–११ का प्रशिक्षक गुरुङ र क्याप्टेन विशाल राई सहभागी थिए भने त्रिभुवन आर्मीका तर्फबाट प्रशिक्षक न्यौपाने र क्याप्टेन नवयुग श्रेष्ठ सहभागी थिए । पत्रकार सम्मेलनमा झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले विशाल राईलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने बताएका छन् ।
यसैबीच नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्डकपमा आउने भएका छन् । अलमुताइरी फाइनल खेलका दिन फागुन ३० गते डोमालाल राजवंशी रंगशालामा उपस्थित हुने पक्का भएको हो । उनले झापा आउनेबारे आफ्नो फेसबुक स्टाटसमा समेत उल्लेख गरेका छन् ।
प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनी खेलअवधिभर मैदानमा रहने छन् । कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलेको थियो ।
एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाह नेपाली टिमका हालसम्मका सफल प्रशिक्षक हुन् । उनले नेपाललाई थ्री नेसन्स कपको उपाधि समेत दिलाएका थिए । कतार फुटबल एसोसियसनको सहयोगमा अब्दुल्लाह गत चैत ६ गते नेपाल आएका थिए । कुवेती प्रशिक्षक अब्दुल्लाह अनुभवी प्रशिक्षक हुन् । उनले कतारको अल शाहनी फुटबल क्लब यु–२३ र किर्गिस्तान यु–१७ टिमसँग काम गरीसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment