झापा गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश


झापा २७ फाल्गुन। त्रिभुवन आर्मी क्लब विर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा फाइनल प्रवेशका लागि आज भएको सेमिफाइनल खेलमा सातदोबाटो फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम दुइमा प्रवेश गरेको हो ।
आजको जितसँगै आर्मीले ६ लाख ५ हजार सुरक्षित समेत सुरक्षित गरेको छ । आर्मीको जितमा टेकबहादुर बढुाथोकीले २ तथा सुमन आर्याल, सन्तोष तामाङले समान १ गोल गरे । सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गरेका थिए ।
आर्मीका लागि सुरुवाती दुई गोलमा सन्तोष भूमिका रह्यो । पहिलो हाफमा १–१ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा आर्मीले ३ गोल थपेको थियो ।
सुमन आर्यालको गोलबाट आर्मीले २७ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । सन्तोषको फ्रिकिकलाई सुमनले पोष्ट नजिकबाट गोल गरेका हुन् । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सुशिल राईले पेनाल्टी बक्समा निकालेको पासमा दीपकले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए ।
दोस्रो हाफमा आक्रमणलाई तेज बनाएको आर्मीका लागि ५९ औं मिनेटमा सन्तोषले गोल गरेका थिए । टंक बस्नेतले पेनाल्टी बक्समा दिएको पासमा सन्तोषले गोल गरेका हुन् । टेकबहादुरले ३ मिनेटको फरकमा दुई गोल गर्दै आर्मीको जितलाई सहज बनाएका थिए ।
८० औं मिनेटमा टेकबहादुरले व्यक्तिगत पहिलो र टोलीका लागि चौथो गोल गरे । युद्ध शाहीको फ्रिकिकमा नवयुग श्रेष्ठ फ्लिक हेडर गरेपछि टेकबहादुर गोल गरेका हुन् । ८३ औं मिनेटमा कमल थापाको पासमा टेकबहादुरले अर्को गोल थपेका थिए ।
आर्मीले सोमबार हुने फाइनलमा झापा ११ वा संकटा क्लबमध्ये एक टोलीको सामना गर्नेछ । दोस्रो सेमिफाइनल शनिबार हुनेछ । झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment