जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहन्छौं : उपाध्यक्ष नेम्वाङ


काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई गलत ढंगले सरकारमा जान हतार नभएको भन्दै जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्दै देश र जनताको सेवा गर्न चाहेको बताएका हुन् ।

उनले एमालेलाई घरको झ्याल र छानाबाट नभएर घरको मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्न कसैले रोक्न नसक्ने दाबी गरे । नेम्वाङले बहीखाता लिएर जनतामा हिसाबकिताब देखाउन एमाले तयार रहेको उल्लेख गरे ।

टर्चलाइट बालेर एमाले खोज्नुपर्छ भन्नेहरुलाई आगामी निर्वाचनमा जनताले सजाय दिने उनको भनाइ छ । उनले आगामी निर्वाचनमा एमालेको नभई आफ्नै पार्टीको विरुद्धमा लाग्नेहरुको बाक्सा खाली गर्ने धारणा राखे ।

त्यस्तै एमाले उपाध्यक्ष विष्णु पौडेलले बिभिन्न बहानामा सरकारले स्थानीय निर्वाचन सार्न खोजिरहेको आरोप लगाए । गठबन्धन आपसी विवादमा फसेकाले पनि निर्वाचन टार्न र सार्न चाहिरहेको उनको भनाइ छ । पौडेलले निर्वाचन सार्ने दुष्कर्म गरिए जनस्तरको कडा प्रतिवादको सामना गर्नुपर्ने चेतावनी दिए ।

उनले बैंशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशतभन्दा माथि जीत हासिल गर्ने लक्ष्यका साथ अघि बढेको धारणा राखे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment