वीरगञ्जबाट नक्कली मतपत्र र नगदसहित दुईजना पक्राउ

२ मंसिर २०७९, शुक्रबार


वीरगञ्ज (पर्सा) । वीरगञ्जस्थित सशस्त्र प्रहरीले फर्जी (नक्कली) मतपत्र र नगद सहित दुई जनालाई पक्राउ गरेको छ । गएराति जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वीरगञ्जको बसपार्कस्थित सडकखण्डबाट फर्जी मतपत्र र नगदसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–१८ बस्ने कार चालक २३ वर्षीय अमिरी राउत र सोही कारका मालिक वीरगञ्ज महानगरपालिका–१६ इनर्वा निवासी ३३ वर्षीय राजन सिंह रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार कलैया वीरगञ्जतर्फ आइरहेको बा १०२४ च ६६३६ नम्बरको कारलाई चेकजाँच गर्दा फर्जी मतपत्र तथा २ लाख ७२ हजार नगद रुपैया बरामद गरिएको हो । बरामद गरिएको नगद एवं फर्जी मतपत्रसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
उनीहरुको साथबाट १० हजार थान फर्जी मतपत्र, २ सय ५० थान स्वस्तिक छाप र ४८ थान स्टाम्प प्याड बरामद भएको छ । करिब ३ सयप्रति फर्जी मतपत्रमा साइकिल छापमा मत संकेत गरेको फेला परेको छ ।
उनीहरु कुन निर्वाचन क्षेत्रको लागि मतपत्र लिएर हिँडेका हुन् भन्ने कुरा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति र गाडी हाल वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ । उनीहरुलाई आवश्यक कारबाहीहीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment