दुर्गा प्रसाईंसँग २ करोड माग्ने सांसद ढाकाकुमारलाई रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

२६ चैत्र २०७९, आईतवार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेका सांसद डा. ढाका कुमार श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
डा. श्रेष्ठको स्वरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै स्वास्थ्य मन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन संवाद बाहिरिएपछि आइतबार पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।


पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुन्द ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ । यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा.ं श्रेष्ठलाई निर्देशन दिइएको छ ।’
सार्वजनिक अडियोमा डा. श्रेष्ठले प्रसाईंसँग मन्त्री बन्नका लागि २ करोड रकम मागेका छन् । यदि, छानबिनपछि दोषी ठहर भएमा उनको सांसद पद पनि जान सक्छ ।
सांसद श्रेष्ठ यसअघि पनि आफै अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थामा रहेका बचतकर्ता लाखौँ रकम अपचलन गरेको भन्दै विवादमा परेका थिए । यस विवादमा उनीमाथि मुद्दा समेत चलेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment