ताप्लेजुङमा बाढी पहिरो : मृतकको संख्या ३ पुग्यो, ३ जना बेपत्ता

सोमबार, असार ०४, २०८० 


ताप्लेजुङ  ।  ताप्लेजुङमा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ। सोमबार बिहान बाबु छोराको मृत्यु भएको हो।
सिदिंवा गाउँपालिका–६ मेहेलेको मुकुभञ्ज्याङमा पहिरो जाँदा बाबु केशरबहादुर राई र छोरा सुरेश राईको मुत्यु भएको हो। पहिरोमा परेका उनीहरुमध्ये सुरेश र रामकुमार राईको गम्भिर घाइते अवस्थामा उद्धार गरिएको थियो। जसमध्ये सुरेशको मृत्यु भएको छ भने रामकुमारको अवस्था चिन्ताजनक रहेको छ। उनको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर इटहरीबाट मेहेलेतर्फ प्रस्थान गरेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी राजन लिम्बूले जानकारी दिए।
गम्भीर घाइते रामकुमारलाई स्थानीय निलगिरी माध्यमिक विद्यालयसम्म लैजाँदै गरेको स्थानीय राजेश कँडेलले जानकारी दिए। स्थानीय कमल कडरियाका अनुसार सो क्षेत्रमा खाद्यान्न समेत अभाव भएको छ। हिजोदेखि नै स्थानीय पहिरोको जोखिमका कारण घर छाडेकाले खानाको समेत अभाव भएको उनले बताए।
यस्तै स्थानीय स्वास्थ्य चौकीसमेत पहिरोले बगाएका कारण प्राथमिक स्वास्थ्य उपचारको पनि अभाव रहेको स्थानीयको भनाई रहेको छ। सोहि स्थानमा आइतबार बेपत्ता रहेका गणेश तामाङको शव फेला परेको थियो भने अन्य तीनजना अझै हराइरहेका छन्।
अबिरल बर्षा नरोकिएका कारण राहत तथा उद्धारमा समस्या भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पानी पर्ने क्रम नरोकिएकोले जोखिम बढ्न सक्ने भन्दै सबैलाई सावधानी रहन आग्रह गरेकी छन्। उनले विपद् व्यवस्थापन समितिले राहत र उद्धारका कार्यलाई उच्च प्राथमिकतामा राखेको र यसकार्यमा सबै शक्ति परिचालित गरिएको बताइन्।
यता काबेली नदीको जलसतहले सतर्कता तह पार गरेको र अहिले पनि बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहान एसएमएस पठाउँदै विभागले काबेली र तमोर नदीको तटीय क्षेत्रमा दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment