पाथीभरामा केवलकार बनाउन नदिने

आइतबार, पुष १५, २०८० 


ताप्लेजुङ  ।  मुक्कुमलुङ संघर्ष समिति लगायतका विभिन्न संस्थाले पाथीभरामा केवलकार बन्न नदिने दोहोर्‍याएका छन् । शनिबार दिउँसो सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्दै जबरजस्ती गर्न खोजे अनिष्ट हुने चेतावनीसमेत दिए । केवलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्वु लिम्बूले जबरजस्ती निर्माण गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिए ।
‘यसअघि पाथीभरा केवलकार कम्पनीका अध्यक्ष चन्द्र ढकाल आएर छलफल राख्नु भएको थियो । उहाँलाई पनि हामीले प्रस्टसँग भनेका छौं,’ फेम्वूले थपे, ‘डिएफओले पनि वनको कटान आदेश दिएको भन्नु भएको छ, त्यसो गरिए प्रतिकार हुन्छ ।’
एक/दुई जना जनप्रतिनिधिले सिंगो समुदायको प्रतिनिधित्व गरेको नठहरिने भएकाले स्थानीयवासी संघर्षरत रहेको बुझ्न निर्माण कम्पनी र सरोकारवालालाई उनीहरुले स्मरण गराएका छन् । मुक्कुमलुङको अस्तित्वलाई स्वीकारेर पाथीभरा क्षेत्र विकास समितिको सट्टा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको, याक्थुम लिम्बूको मुन्धुमीस्थल आध्यात्मिक आस्थाको स्थल समाप्त गर्न अतिक्रमणलाई निरन्तरता दिनमात्रै नभई व्यापारिक केन्द्र बनाउने माध्यमको रुपमा केवलकार भित्र्याइएको आरोप उनीहरुको छ ।
मुन्धुमअनुसार मान्दै आएको आध्यात्मिक स्थल मुक्कुमलुङ युमा माङ देवस्थललाई अतिक्रमणबाट जोगाउन आफुहरु आन्दोलित हुनु परेको किरात याक्थुङ चुम्लुङ जिल्ला समिति ताप्लेजुङका सदस्य सरोज कङलीवा लिम्बू बताउँछन् ।
हिन्दु, क्रिश्चियन, बुद्धिष्टहरुको पवित्रस्थलमा जाँदा सम्बन्धित धर्मको सभ्यता, संस्कृति, परम्परा, हेर्न जाने भनेझैं मुक्कुमलुङमा जाँदा त्यहाँको मुन्धुमी मान्यता, सभ्यता, परम्परा देख्न सकिने स्थलको रुपमा विकास गर्नुपर्ने माग प्रस्ताव संघर्ष समितिको छ । आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गर्दै स्थानीय समुदायमाथि एकापसमा जुधाएर व्यापारिक अभिष्ट पूरा गर्न खोजिए त्यो पूरा नहुने चेतावनी दिइएको छ ।मुक्कुमलुङ संघर्ष समिति, केवलकार निर्माण खारेजी संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किरात धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति, किरात याक्थुङ चुम्लुङले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी निर्माणमा नलाग्न अपिल गरेका छन् । पाथीभरा (मुक्कुमलुङ) केवलकार प्रालिको जिम्मेवारी चन्द्र ढकालले लिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment