कृषि र सीमा समस्या समाधान गर्न इलामवासीको गृहमन्त्रीसमक्ष आग्रह

 १७ चैत्र २०८०, शनिबार मा प्रकाशित


मङ्गलबारे (इलाम), उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले साझा मुद्दा र सवालमा काम गरिरहेको बताउनुभएको छ । जिल्लास्थित राजनीतिक दल एवं समाजसेवीसँगको अन्तक्र्रियामा उहाँले साझा एजेन्डामा सबै दल एकजुट हुनुपर्ने बताउनुभयो ।

सीमा, सडक, स्वास्थ्य, शिक्षा र कृषिलगायत जनतासँगै प्रत्यक्ष जोडिएका विषयमा सबैका साझा समस्या भएको भन्दै गृहमन्त्री लामिछानेले दलहरु ती विषयमा एकजुट भएर समाधान खोज्नुपर्ने बताउनुभयो । देशमा धेरै समस्या रहेकाले ती समस्या एकैपटक समाधान गर्न नसकिने भन्दै उहाँले क्रमशः समाधान गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय तह, व्यापारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिले जिल्लामा रहेका कृषि, स्वास्थ्य, शिक्षा तथा सीमामा उत्पन्न हुने समस्याका बारेमा गृहमन्त्री लामिछानेसमक्ष जानकारी गराउनुभएको थियो । स्थानीय अमीर राईले कोरोना महामारीका समयमा सरकारले दिने भनेको छुटका बारेमा हालसम्म सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका जिल्ला सदस्य हुकुम थेवेले सीमाक्षेत्रका समस्या तथा जीर्ण अवस्थामा रहेका सुरक्षा चौकीको स्तरोन्नति गर्नुपर्ने बताउनुभयो । स्थानीय रिना घिमिरेले मेची राजमार्गका विभिन्न स्थानमा समस्या आएको भन्दै तत्काल सडक मर्मत गर्न आग्रह गर्नुभयो । राष्ट्रिय जनमुक्ति पार्टीका ललितबहादुर थेवेले दैनिक उपभोग्य वस्तुमा महँगी बढेकाले अनावश्यक रुपमा गरिएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले किसानले समस्या भोग्नु परिरहेकाले समस्या समाधानमा पहल गर्नुपर्ने बताउनुभयो । इलाम नगरपालिकाका प्रमुख केदार थापाले जिल्लामा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा र खेलकुदका समस्या समाधानमा आफूहरु लागिपरेको बताउनुभयो । उहाँले एकैपटक सबै समस्या समाधान हुन नसक्ने भन्दै क्रमैसँग समस्या समाधान गरिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment