बचतकर्ताको लाखौं रकम हिनामिना, झापाका सहकारी संचालकहरु धमाधम पक्राउ पर्दै

२०८० फाल्गुन २४ गते , विहीबार


बचत फिर्ता नगर्ने झापाका सहकारी सञ्चालकहरू पक्राउ पर्न थालेका छन् । यसक्रममा बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका हुन् ।


सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा १ करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी हिजो पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू दुवै बुद्धशान्ति गाउँपालिका – २ का हुन् ।
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयमा जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापकविरुद्ध उजुरी परेको थियो । सहकारी रजिष्ट्रार कार्यालयको पत्रअनुसार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मिलन केसीले बताए । पक्राउ परेका उनीहरूसहित पाँच जनाविरुद्ध उजुरी परेको बताइएको छ । तर, अन्य व्यक्ति फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । शेयर सदस्य तथा बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा २०७९ भदौदेखि सहकारी जयपुर सहकारी बन्द भएको छ । २०५९ सालमा स्थापित संस्थामा ४९ लाख ९८ हजार १ सय रुपैयाँ शेयर पुँजी र ३ करोड ८ लाख ६८ हजार १ सय ४४ रुपैयाँ निक्षेप बचत रहेको छ ।
झापाका अन्य सहकारीविरुद्ध पनि उजुरी परेको छ । आफूहरूले सहकारीहरूले गरेको ठगीलाई गम्भीरताका साथ लिएर कारबाही शुरु गरेको एसपी केसीले बताए । उनले भद्रपुरको अर्को सहकारीविरुद्ध उजुरी परेको र त्यसका सञ्चालकलाई कारबाही शुरु गर्न लागिएको जानकारी दिए । बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड , पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा , संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमकमाथि उजुरी परेको झापा जिल्ला सहकारी संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment