इलामको जमुनामा भेटियो जंगली कुकुर

सोमबार, चैत्र २६ २०८०


इलाम– इलामको सन्दकपुर गाउँपालिका–५, हाँगेथामस्थित धप्परमा निकै महत्वपूर्ण जनावर जंगली कुकुर (कन अल्पिनस) फेला परेको छ ।
प्रायः तराईमा मात्र पाइने दाबी गरिएको ‘ढोले’ भनिने यो जंगली कुकुर दुई हजार छ सय ५० मिटर उचाईमा फेला परेको हो ।
वाइल्डलाइफ फोटोग्राफर देबेन खरेल बिहानको समयमा छाउरी जंगली कुकुरको तस्बिर खिच्न सफल भएका हुन् । खरेलले यो जनावर अढाई हजार मिटरभन्दा माथिको उचाईमा भेटिनु निकै महत्वपूर्ण उपलब्धि भएको बताए ।
‘यो कुकुर प्रायः तराईमा मात्र पाइन्छ भनिन्छ तर कसैसँग यसको फोटो छ कि छैन, मलाई जानकारी भएन,’ खरेलले भने, ‘यो चाहिँ निकै इम्पोर्टेन्ट रेकर्ड हो । बरु स्याल देखिन्छ, फ्याउरो, दुम्सी, मृग देखिन्छ तर वाइल्ड डग नेपालको त्यो हाइटमा देखिनु ज्यादै नौलो हो । यो सामान्य विषय होइन ।’
खरेलले कुकुरको यो प्रजातिले जिउँदो प्राणीलाई सामूहिक रूपमा चिथोरेर, मारेर खानेगरेको विशेषता सुनाए । ‘यसले अरू प्राणीलाई एक्लै होइन, परिवारै मिलेर आक्रमण गर्छ,’ उनले भने, ‘हामीसँग यसको फोटो सुरक्षित छ ।’ स्थानीय नेचर गाइड दाबाछेतेन शेर्पाले यो जनावर देखिनु महत्वपूर्ण भएको बताए । ‘हाम्रो ठाउँमा यो उचाईमा महत्वपूर्ण उपलब्धि भएको छ,’ उनले भने ।
सन्दकपुर गाउँपालिका ५ का वडा सदस्य कुमार गुरुङले आफ्नो गाउँमा जंगली कुकुर फेला पर्नु र तस्बिरसमेत खिच्न पाउनुले जैविक विविधताको महत्व बढाएको बताए ।
‘हाँगेथाम क्षेत्र चरा र दुर्लभ जनावरका लागि निकै संवेदनशील ठाउँ हो,’ उनले भने, ‘यही ठाउँमा जंगली कुकुर भेटिनुले यहाँको जैविक विविधताको परिचय दिएको छ, पर्यटकीय सम्भावनाको उजागर पनि गरेको छ ।’ गुरुङले यो क्षेत्रको जैविक विविधताको थप अध्ययन आवश्यक रहेको पनि बताए ।
लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment