इलामको सन्दकपुरमा भेटियो जंगली ठुटे खरायो


झापा — इलामको सन्दकपुरमा फरेस्ट पाइका नामको जंगली ठुटे खरायो भेटिएको छ । भारतसँग सीमा जोडिएको उत्तरी इलामको सन्दकपुर क्षेत्रमा ठुटे खरायो फेला परेको हो । झापाका वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेलले करिब चार महिनाअघि उक्त खरायोको फोटो खिचेका हुन् । खरेलले दार्जिलिङसँगै सीमा जोडिने सन्दकपुर गाउँपालिका–२ आहाल भन्ने ठाउँमा फेला पारेका हुन् ।

खरेलले यसअघि हङरायो, वन कुकुर, हरियो परेवा लगायत पन्छी र जनावार पनि पहिलो पटक फेला पारेका थिए । यो खरायो नेपालमै पहिलो पटक देखिएको खरेलको दाबी छ । ‘नेपालको जैविक विविधतामा विभिन्न प्रकारका ठुटे खरायोहरू देखिएका छन् । तर, जंगली ठुटे खरायो अहिलेसम्म नेपालमा रेकर्ड भएको देखिंदैन ।’


प्राणीविज्ञ करणबहादुर शाहले यसअघि कालोमुखे, हिमाली, लामा, लामकाने, नुब्री, मुसे र तिब्बती ठुटे खरायो फेला परिसकेको छ । तर, जंगली ठुटे खरायो भने पहिलो पटक भेटिएको हुन सक्ने अनुमान गरे । ‘यो जनावार नेपालमा रेकर्ड भएको छैन,’ उनले भने, ‘तर, फोटो हेर्दा चाहिँ हो कि जस्तो लागेको छ । खुट्याउन भने गाह्रो छ ।’ उनका अनुसार सानो आकारको यो स्तनधारी जनावार मूलतः भारतसहित चीन, भुटान र म्यानमारको उच्च हिमाली क्षेत्रमा मात्रै पाइन्छ । भारतको सिक्किम र अरुणाचलको उच्च हिमाली क्षेत्रमा पनि यो केही समयअघि देखिएको थियो ।

प्राणी विज्ञ शाहका अनुसार यो प्रजाति सामान्यतया मिश्रित शंकुधारी र चौडा पात भएको जंगलमा, झाडीमा, र ढुंगाको थुप्रो वरपरको क्षेत्रमा बस्छ । सामान्यतया समुद्री सतहदेखि २ हजार ६ सयदेखि ४ हजार ४ सय मिटर उचाइमा यो भेटिन्छ । विज्ञहरुहरुका अनुसार सामान्य शाकाहारी जनावार हो । यो चिसो हिमाली क्षेत्रमा वन रुचाउँछ । त्यही सिलसिलामा कन्चनजंघा क्षेत्रको आसपास पहिलो पटक देखिएको हुन सक्ने विज्ञहरुको दाबी छ ।

विज्ञ शाहले भने, ‘यसले मौसम अनुसार रंग फेर्छ । गर्मीमा गाढा रातो–खैरो वा कालो–खैरो हुन्छ भने हिउँदमा खैरो ।’ उनका अनुसार यसको लम्बाइ लगभग १५ दशमवल ५ देखि १८ दशमलव ५ सेन्टिमिटर र तौल १ सय १० देखि १ सय ४८ ग्रामसम्म हुन्छ । यसको टाउको र कान अन्य खरायोको भन्दा अनौठो हुन्छ । सन् १९९४ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले जंगली ठुटे खरायोलाई अपर्याप्त जानकारी भएको प्रजातिका रूपमा वर्गीकरण गरेको थियो ।

सन् १९९६ मा यसको स्थिति निकट संकटापन्नको रुपमा चित्रण गरिएको थियो । सन् २००८ र २०१६ मा गरिएको अध्ययनपछि भने यो जनवारलाई ‘कम चिन्ताजनक’ सूचीमा राखिएको विज्ञहरूको भनाइ छ । यसको वास्तविक संख्या कति छ भन्ने यकिन तथ्यांक कतै छैन । यसको व्यवहार र प्रजनन क्षमताबारे पनि अहिलेसम्म अध्ययन भएको पाइँदैन । जंगल विनाश बढ्दै गएमा अन्य जनावर झैं यो पनि मासिन सक्ने अनुमान विज्ञहरूको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment