चियाको औद्योगिक गाउँ साँखेजुङ सामान्य जीवनमा फर्किँदै

इलाम – १, साँखेजुङ | २४ असोज, माइपोखरी न्यूज


असाेज १८ गतेको अविरल वर्षाले व्यापक क्षति पुर्‍याएको इलाम–१ स्थित चियाको औद्योगिक गाउँ साँखेजुङ क्रमशः सामान्य जीवनमा फर्किँदै गएको छ।
हजारौँ ठाउँमा पहिरो गएको र थुप्रै सडक अवरुद्ध भए पनि स्थानीय सरकार, वडास्तरका संयन्त्र र नागरिकको निरन्तर प्रयासपछि अहिले सडक, विद्युत् र उद्योग क्षेत्र पुनः सञ्चालनतर्फ फर्किन थालेका छन्।
🏠 १५ परिवार विस्थापित, अस्थायी बासको व्यवस्था
अविरल वर्षाका कारण १५ परिवार विस्थापित भएका छन्। उनीहरूकाे लागि अस्थायी आवासको व्यवस्था मिलाइसकिएको वडा कार्यालयले जनाएको छ।
त्यसमध्ये साविक साँखेजुङ–२ मा मात्र ७ परिवारका लागि पनि अस्थायी आवासको व्यवस्था मिलाइसकिएको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयले राहत रकम वितरण सुरु गरेको छ। वडा अध्यक्ष गायत्रीराम बस्नेतका अनुसार, “राहत र उद्धारमा वडा कार्यालयले कुनै पनि ढिलासुस्ती गर्न दिएको छैन। सबै प्रभावितलाई तत्काल सहयोग पुर्‍याउने प्रयासमा छौँ।”
🐄 पशु तथा कृषि क्षेत्रमा क्षति
पहिरो र वर्षाका कारण ८ वटा गाइ र ६ वटा वाछा–वाछीको मृत्यु भएको छ। त्यसैगरी, एउटा बोइलर कुखुरा फार्म पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
कृषि तथा पशुपालन व्यवसायमा संलग्न किसानहरूलाई राहत सामग्री वितरण सुरु गरिएको वडा कार्यालयले जनाएको छ।
🛣️ सडक र यातायात क्रमशः सञ्चालनमा
पहिले अवरुद्ध रहेको मेची राजमार्गको साँखेजुङ खण्ड सञ्चालनमा आएको छ।
त्यस्तै, नेपालटार–मंगलबारे सडक झुत्रेखोला सम्म सञ्चालनमा आएको छ।
बञ्चरे गोलाईदेखि साविक १ नम्बर थापा गाउँसम्मको सडक मर्मत कार्य आज साँझसम्म सम्पन्न हुने वडा कार्यालयले जानकारी दिएको छ।
🍃 चिया उद्योग र दुध डेरी पुनः सञ्चालन
साँखेजुङका करिब ९० प्रतिशत चिया कारखाना आजदेखि सञ्चालनमा आउने भएका छन्।
कारखानासँग जोडिएका सहायक बाटाहरूको मर्मत कार्य पनि पूरा भएको छ।
त्यस्तै, दुध डेरीहरू आजदेखि सञ्चालनमा आएको वडा कार्यालयले जनाएको छ।
चिया उद्योग, डेरी र सडक सञ्चालनसँगै साँखेजुङका बासिन्दा बिस्तारै सामान्य जीवनमा फर्किँदै छन्। स्थानीयहरूले आपसी सहकार्य र वडा कार्यालयको तत्परताको प्रशंसा गरेका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment