देउमाईमा युवाको आक्रोश : मेयरलाई ‘राहत’ दिएर विरोध

 

देउमाई (इलाम), असोज २४।

गत असोज १८ गतेको भीषण वर्षा र पहिरोले इलामको देउमाई नगरपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएपछि राहत वितरणमा देखिएको ढिलासुस्तीले स्थानीय युवाहरू आक्रोशित बनेका छन्। राहतका लागि पटक–पटक आग्रह गरे पनि समयमै सहायता नपाएको भन्दै युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन् — राहत सामग्री नै नगर प्रमुखलाई हस्तान्तरण गरेर।

स्थानीय युवाहरूले आफैंले संकलन गरेका केही खाद्यान्न, लत्ताकपडा र अत्यावश्यक वस्तुहरू लिएर नगरपालिकामा पुगे र मेयरलाई हस्तान्तरण गर्दै भने, “हामीले राहत चाहेका होइनौँ, जिम्मेवारीको सम्झना गराउन आएका हौँ।”

युवाहरूको भनाइमा, राहत वितरणमा ढिलासुस्ती मात्र नभई नगरपालिकाका अन्य विकास योजनाहरू पनि सुस्त गतिमा अघि बढिरहेका छन्। उनीहरूले नगरपालिकाले सीमित व्यक्तिलाई मात्र मेयरको कार्यकक्षमै बोलाएर राहत बाँडेको भन्दै असन्तुष्टि व्यक्त गरे।

असोज १८ गतेको अविरल वर्षापछि आएको पहिरोले देउमाईका धेरै बासिन्दाको जनजीवन कष्टकर बनेको छ। धेरै परिवार अझै अस्थायी टहरामा बसोबास गरिरहेका छन् भने गाँस, बास र कपासको ठेगान नपाउँदा स्थानीय पीडितहरू थप मारमा परेका छन्।

स्थानीय युवा सञ्जालका सदस्यहरूले भने, “स्थानीय सरकार पीडितको नजिक होइन, कार्यालयको कुर्सीमै सीमित भएको देखिन्छ।”
उनीहरूले नगरपालिकालाई तत्काल राहत, पुनःस्थापना र दीर्घकालीन विपद् व्यवस्थापन योजनाको माग गरेका छन्।

युवाहरूको यो सांकेतिक विरोधले देउमाई नगरपालिकाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment