भद्रपुरकी बबिताको भारतमा हत्या, हराएकी ८ दिनपछि खुल्यो पहिचान


झापा । झापा भद्रपुरकी एक महिलाको भारतमा हत्या भएको छ । भद्रपुर नगरपालिका–६ तेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको हत्या भएको हो । 


उनको शव भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थाना अन्तरगतको बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टा नजिकैको केरा बगानमा फेला परेको थियो । उनको शव कुहिएको अवस्थामा खोरीबारी पुलिसले फेला पारेको थियो । अनुहार किराले खाइसकेकोले पहिचान समेत नखुलेको उनको शव केराको पत्ताले छोपिएको थियो । 
केरा बगानमा शव गन्हाएपछि स्थानीयले देखेर त्यहाँका प्रहरीलाई खबर गरेका थिए । घटना असोज २ गतेको हो । घटनास्थल नेपाल–भारत सीमा नाका भद्रपुरदेखि करिब दुई किलोमिटर पूर्व उत्तर पर्छ । खोराबारी पुलिसले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज पठाएका थिए । 
शव पहिचान नखुलेको अवस्थामा घटना भएको ५ दिनपछि ती महिला भद्रपुरकी रहेको भनी खुलेको छ । मृतक बबिता सागसब्जी बिक्री गर्थिन ।  बबिता भदौ ३० गते सीमावर्ती भारतीय बजार सागसब्जी लिन गएको उनका जेठाजु जितेन राजवंशीले बताए । बबिता केही दिन देखि हराइरहेको अवस्थामा एक महिलाको शव बोर्डर पारी भारतमा फेला परेको खबर सुनेर उनका परिवारजन तत्काल भारतीय प्रहरीसँग समन्वय गरेका थिए ।
परिवारजनले उनले लगाएको कपडाको आधारमा शवको पहिचान गरेका थिए ।  ‘बबितालाई हत्या गरी केरा बगान लगी शव लुकाएर राखेको हुनुपर्छ,’ उनका जेठाजु जितेनले भने । घटना शङ्कास्पद भएकोले खोरीबारी पुलिस थानामा गएर चार जनाको नाममा किटानी जाहेरी दिएको उनको भनाई छ । चारै जना भारतीय नागरिक हुन । प्रतिमा बानिक, बालचन्द्र बानिक, दधिराम बर्मन र सहदेव बानिक रहेको उनले बताए । उनीहरूको बबितासँग आर्थिक लेनदेन थियो ।  नेपाल प्रहरीसँग समन्वय गरी बबिताको शव सोमबार दिउँसो साढे ३ बजे घर ल्याएर दाहसंस्कार गरिएको उनको भनाई छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment