त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उपाधि जितेको छ। इलामको ठूलो टुँडिखेल खेल मैदानमा शनिबार सम्पन्न खेलमा एपिएफ २–१ ले विजयी भएको हो।
सुरुबाटै आर्मीविरुद्ध हाबी भएको एपिएफले खेलको २५ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुआती अग्रता लिएको थियो । एपिएफकी सविता रानालाई आर्मीको डी–बक्स एरियामा फाउल गरिएपछि पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै गोल गरिन् । आर्मीले पनि पहिलो हाफमा थुप्रै अवसर सदुपयोग गर्न सकेन ।
पहिलो हाफमा १–० अन्तरले अग्रता बनाएको एपिएफले दोस्रो हाफमा पुनः गोल गर्दै अग्रतालाई दोब्बर बनायो । दोस्रो हाफमा एपिएफकी सविता रानामगरले गोल गरिन् । आर्मीले दोस्रो हाफमा गोल गर्दै अग्रतालाई घटायो । आर्मीका लागि फरवार्ड विमला चौधरीले गोल गरिन् ।
उपाधिसँगै एपिएफले नगद चार लाख र आकर्षक ट्रफी पाएको छ । उपविजेता आर्मीले नगद दुई लाख प्राप्त गरेको छ । आजको खेलको प्लेयर अफ दी म्याच एपिएफकी सविता रानामगर घोषित बनिन् । उनले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । ।
उत्कृष्ट गोल रक्षक आर्मीकी अञ्जना राना घोषित भइन् । उनले १० हजार र ट्रफी प्राप्त गरिन् । उत्कृष्ट डिफेन्डर आर्मीकै विमला बिक बनिन् । उनले पनि नगद १० हजार र ट्रफी प्राप्त गरिन् । सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङले नगद १० हजार र ट्रफी प्राप्त गरिन् ।
खेलको उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटेले पनि १० हजारसहित ट्रफी प्राप्त गरिन् । सर्वोत्कृष्ट खेलाडी एपिएफकी अनिता बस्नेत घोषित् भइन् । उनले नगद १५ हजार र ट्रफी प्राप्त गरिन् । क्लब ओएसिस इलामको आयोजनामा फागुन १७ मा सुरु गोल्डकपमा आठ टिम सहभागी थिए ।
0 comments:
Post a Comment