गाउँमै सुन फलाउँदै प्रदीप: मेहनतको फल अलैंची

  • गोविन्द पौडेल
१०  साउन | माइपोखरी न्यूज

जब गाउँका युवाहरु रोजगारीको खोजीमा विदेशिन्छन्, त्यही बेला माइजोङमाईका एक युवाले भने आफ्नै गाउँमा बसेर कृषि कर्ममार्फत सफलता हात पारिरहेका छन्। माइजोङमाई गाउँपालिका–२ खोल्मेका प्रदीप खड्काको मेहनतले आज गाउँमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिएको छ।
प्रदिपले स्थापना गरेको चारखोल कृषि तथा पशुपालन फार्म अलैंची खेती र नर्सरी व्यवसायको सफल मोडेल बनेको छ। यस वर्ष मात्रै उनले भार्लाङ जातको अलैंचीका ३० हजार बिरुवा बिक्री गरी झण्डै ४ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन्। बिरुवाका लागि जिल्लाका रोङ, सूर्योदय, माइजोङमाई र देउमाई नगरपालिकाबाट किसानहरू उनीकहाँ पुगेका छन्।
“स्वस्थ, उत्पादनशक्ति राम्रो र रोग प्रतिरोधी बिरुवा उत्पादन गर्न सके किसानहरू आफैँ खोज्दै आउँछन्,” प्रदीप भन्छन्। उनले यस वर्ष आफ्नै बारीबाट करिब ८ मन अलैंची उत्पादन हुने अनुमान गरेका छन्। यस आधारमा अलैंची खेतीबाट उनको वार्षिक आम्दानी १२ लाख रुपैयाँ पुग्नेछ।
विजु बिरुवा उत्पादनमा पनि लागेका छन्
खाना तथा कृषि संगठन (FAO) को सहकार्यमा उनी अहिले विजु बिरुवा उत्पादनमा पनि जुटेका छन्। प्रदीपले आगामी वर्ष १ लाख बिरुवा बिक्री गर्ने र आफ्नै बारीमा २५ देखि ३० मनसम्म अलैंची उत्पादन गर्ने लक्ष्य बनाएका छन्।
नेपालको प्रमुख निर्यातयोग्य बाली मानिने अलैंचीलाई ‘खोल्साको सुन’ भन्ने गरिन्छ। अघिल्लो दशकसम्म सीमित जिल्लामा मात्रै उत्पादन हुने यो बाली अहिले ४० भन्दा बढी जिल्लामा विस्तार भइसकेको छ। तर पूर्वी नेपालका कतिपय क्षेत्रमा डढुवा, छिर्के, गानो कुहिने लगायतका रोगका कारण अलैंची खेती संकटमा पर्न थालेको छ।
यस्ता चुनौतीका बीच प्रदीपजस्ता युवाले आधुनिक सोच, लगनशीलता र मेहनतमार्फत सम्भावनालाई पक्रिरहेका छन्। उनकाे कामले न केवल आर्थिक रूपमै सफलता दिएको छ, बरु गाउँमै अवसर छ भन्ने सन्देश पनि दिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment