राेङमा करिब ३३ हजार मिटर सडक सजिलो

  • गोविन्द पौडेल

 २६ साउन


हालसम्म मेची राजमार्ग बाहेक एक चप्पर पनि पिच नभएको इलामको रोङ गाउँपालिकामा करिब ३३ हजार मिटर सडक ग्राभेल गरिएको छ।

गाउँपालिका भित्रका विभिन्न सडकहरू ग्राभेल भई बाह्रै महिना साना सवारीसाधन सहजै चल्ने भएपछि स्थानीयवासीले स्थानीय सरकारको कामप्रति सन्तुष्टि जनाएका छन्। चुरे क्षेत्रको बिकट भौगोलिक अवस्था भएको रोङ गाउँपालिकाले दिगो विकासको अवधारणा, स्थानीय उपयोगिता र आवश्यकता अनुसार सहज सडक पूर्वाधार विकास गर्दै ३२ हजार ९२९ मिटर सडकमा ग्राभेल, ७ हजार १०२.१० मिटर पक्की नाली, १ हजार ७३१ घनमिटर ग्याभलिङ, ७० मिटर आरसीसी ढलान र ५० स्थानमा ह्युमपाइप राखेर सडक सहज बनाएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्वो सुवासले जानकारी दिए।

अध्यक्ष स्याङ्वोका अनुसार गत आ.व. २०८१/०८२ मा—

  • रोङ-१ सातगोलाई सडकमा ११ हजार ४५ मिटर ग्राभेल, २ हजार ७८०.६ मिटर पक्की नाली, ९७५ मिटर ग्याभलिङ, ७० मिटर ढलान र ९ स्थानमा ह्युमपाइप।

  • रोङ-३ हासपोखरी–बेसीबजार सडकमा ५२० मिटर ग्राभेल, ८५० मिटर पक्की नाली, ५७३ मिटर ग्याभलिङ, ५ वटा ह्युमपाइप।

  • दिगो विकास योजना अन्तर्गत रोङ-१ र २ टुङ्ने–वदमटार–झापा सडकमा १३०० मिटर ग्राभेल, ३४५ मिटर पक्की नाली, ९७५ मिटर ग्याभलिङ, ३ वटा ह्युमपाइप।

  • हर्कटे–दैले सडकमा २ हजार ४२६ मिटर ग्राभेल, ६७५.५ मिटर पक्की नाली, ४८.५ मिटर ढलान र २६ वटा ह्युमपाइप।

  • रोङ-५ देवनछाप–बहुवन सडकमा २१० मिटर पक्की नाली, ६४ मिटर ग्याभलिङ, २ वटा ह्युमपाइप।

  • रोङ-६ सलकपुर–सिरान ब्युटिबोर्डर सडकमा ३१५० मिटर ग्राभेल।

  • प्युरे सडक योजना अन्तर्गत रोङ-४ सडकमा २२० मिटर ग्राभेल, ३२८ मिटर पक्की नाली, १ वटा ह्युमपाइप।

  • प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत १ हजार ६३५ मिटर सडकमा पक्की नाली।

यसबाहेक गाउँपालिकाले भाडाको उपकरणमार्फत सलकपुर–सिद्धिखोला, चौतारा–चिलाउने डाँडा, कटहरे–बगैचे, सिरिसे–दुधे लगायतका १३ हजार २० मिटर सडकमा ग्राभेल गरेको हो।

गाउँपालिकाले सहज सडकबाट कालोपत्रेको अवधारणा अगाडि बढाउँदै चरणबद्ध, किफायती र बहुउपयोगी कार्यका लागि दुईवटा ब्याकलोडर र एक स्काभेटर खरिद गरेको छ।

यद्यपि बिकट गाउँका कुनै पनि सडकमा पिच नभए पनि, इलाम प्रवेशद्वार मेची राजमार्गको जोरकलशदेखि हर्कटेसम्म पिच भएको छ। त्यसैले स्थानीयवासीले अबको दिनमा इलाम–झापा जोड्ने हर्कटे, रम्भ्याङ–निन्दा, तिनधरे–शान्तिपुर, झापा सडकलाई रोङबाट नै कालोपत्रे गर्नुपर्ने माग गर्दै आएका छन्।

पहिले वर्षायाममा हिँड्नै गाह्रो हुने सडक सुधारपछि अहिले रोङका गाउँ–गाउँमा अटो सुबिधा पुगेको छ। यसले नागरिकको जीवनमा सहजता थपेको छ। अटो व्यवसायी दशरथ रिजालले भने, “पहिले वर्षामा हर्कटे–रम्भ्याङ सडकमा अटो चलाउन सकिँदैनथ्यो। अहिले भने वर्षातमा पनि सजिलै अटो कुदाउन पाउँदा सबैलाई सहज भएको छ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment