राजधानीका तीनवटै जिल्लामा कर्फ्यू आदेश, झापामा सकियो कर्फ्यू


२४ भदौ, काठमाडौं । जेनजी आन्दोलन थप चर्किने देखिएपछि सरकारले काठमाडौं उपत्यकाका तीनै जिल्लामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार चक्रपथभित्र बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको छ। तोकिएको क्षेत्रभित्र आवतजावत, जुलुस, सभा, प्रदर्शन, घेराउ लगायत गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मन्त्रिपरिषद् निवास रहेको भैसेपाटी (वडा नं. ४, १८ र २५), एमाले पार्टी कार्यालय लक्षित च्यासल (वडा नं. ९) र कांग्रेस पार्टी कार्यालय लक्षित सानेपा क्षेत्रमा आज बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएका छन्। हिजो एमाले पार्टी कार्यालयमा आगजनीको प्रयास भएपछि सुरक्षा कडाइ गरिएको हो।

यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले पनि बिहान साढे ८ बजेदेखि विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन्।

उपत्यकाबाहिर पनि कर्फ्यू र निषेधाज्ञा लागू गरिएको छ। सुनसरीको इटहरीमा अनिश्चितकालीन कर्फ्यू जारी छ भने बर्दियाको गुलरियामा निषेधाज्ञा लागू गरिएको छ। कास्कीको पोखरामा कर्फ्यू हटाएर बिहान ८ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। रुपन्देहीको बुटवल र भैरहवामा पनि कर्फ्यू हटाएर बिहान साढे ९ बजेदेखि निषेधाज्ञा लागू भएको छ।

यता, झापाको बिर्तामोड र दमकमा लगाइएको कर्फ्यूको समय सकिएको छ। थप निर्णयबारे छलफल भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिएका छन्।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment