चैत्र ७, २०८२
झापा । कोशी प्रदेशको ‘व्यवसायिक हब’ बन्दै गएको बिर्तामोड र आसपासका क्षेत्रमा पछिल्लो समय अबैध यौन जन्य गतिविधि (देह व्यापार) र लागुऔषध कारोबार तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको गम्भीर आरोप सार्वजनिक भएको छ ।
स्थानीय स्रोतका अनुसार यी गतिविधि नियन्त्रण गर्नु पर्ने निकाय नेपाल प्रहरी नै संरक्षणमा संलग्न रहेको दाबी गरिएको छ ।
विशेषगरी अर्जुनधारा नगरपालिका–११ टेकबहादुर गिरी बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा लजहरूमा संगठित रूपमा ‘देह व्यापार’ हुने गरेको प्रहरी स्रोतकै दावी छ । त्यस्तै, मुक्ती चोक आसपासका होटलहरूमा पनि यस्तै गतिविधि फैलिएको बताइन्छ ।
स्रोतका अनुसार दर्जनौं होटलहरूले यौनकर्मी राखेर व्यवसाय सञ्चालन गरिरहेका छन् । तीमध्ये केही होटलमा नाबालिकासमेत प्रयोग भएको आशंका गरिएको छ । अधिकांश यौनकर्मी लागुऔषध प्रयोगकर्ता रहेको र होटल सञ्चालक स्वयंले नै लागुऔषध उपलब्ध गराउने गरेको दाबी गरिएको छ।
प्राप्त विवरण अनुसार ग्राहकसँग लिइने रकमको आधा हिस्सा होटल सञ्चालकले लिने र बाँकी यौनकर्मीलाई दिने सहमति हुने गरेको बताइन्छ । तर, व्यवहारमा यौनकर्मीलाई नगदको सट्टा लागुऔषध (विशेषतः ब्राउन सुगर) उपलब्ध गराइने गरेको आरोप छ । यसले देह व्यापारसँगै लागुऔषधको कारोबारलाई पनि सुदृढ बनाएको देखिन्छ ।
यो सबै गतिविधि प्रहरीकै संरक्षणमा सञ्चालन भइरहेको गम्भीर आरोप लगाइएको छ । स्रोतका अनुसार बसपार्क क्षेत्रका होटलहरूबाट मासिक रकम संकलन गरी विभिन्न तहका प्रहरी अधिकारीसम्म पु¥याइने गरिएको दाबी गरिएको छ । (कुन होटलबाट कति रकम लिइन्छ पूर्वाञ्चल दैनिकसंग सो सामग्री उपलब्ध छ ।)
कहिलेकाहीँ ‘सेटिङ’ नमिल्दा मात्र छापा मार्ने र पछि आर्थिक लेनदेन मिलाएर पुनः सञ्चालन गर्न दिने अभ्यास रहेको बताइन्छ ।
यसरी खुला रूपमा देह व्यापार र लागुऔषध कारोबार बढ्दा यो क्षेत्रमा चोरी, लुटपाट, गुण्डागर्दी र ब्ल्याकमेलिङ जस्ता आपराधिक गतिविधि पनि बढ्ने खतरा रहेको स्थानीयको भनाइ छ । साथै, नाबालिका प्रयोग हुने आशंकाले मानव अधिकार उल्लङ्घन र यौनजन्य रोगको जोखिम समेत बढाएको चिन्ता व्यक्त गरिएको छ ।
कानुन कार्यान्वयन गर्ने निकायमाथि नै संरक्षणको आरोप लाग्नु आफैमा गम्भीर विषय हो । बिर्तामोड ४ कि १४ वर्षीया वालिका आसिदा खातुनलाई गैरकानूनी रुपमा हिरासदतमा राखिनु र त्यस पूर्व प्रहरीले पाँच लाख रुपैयाँ लिने विषयमा वार्गेनिङ गर्नुले पनि प्रहरीले कमाउधन्दाको पर्दा फास हुन्छ ।
इलाका प्रहरी कार्यालय अनारमनीको प्रमुखको रुपमा ११ महिना अघि आएका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको निर्देशनमा बिर्तामोडमा सञ्चालित २२ वटा होटलबाट मासिक रुपमा वरिष्ठ प्रहरी नायव निरीक्षक देवराज निरौलाले रकम असुल्दै आएको बुझिएको छ । जसमध्ये ६० प्रतिशत प्रहरी नायव उपरीक्षक श्रेष्ठलाई र ४० प्रतिशत उनी आफैंले राख्ने गरेको समाचार स्रोतको दावी छ ।
केही समय अघि बिर्तामोडको एक होटलमा भएको कुटपिट काण्डमा प्रहरी नायव उपरीक्षक श्रेष्ठले स्वय एक लाख रुपैयाँ लिएर सो घटना ‘छापछुप’ बनाएको बताइएको छ । समाचार स्रोतले भन्यो – होटल सञ्चालकलाई सुरुमा भगाइयो पछि एक रात थुनेर एक लाख रुपैयाा लिएर सो घटना मिलापत्र गराइएको छ ।
त्यसो त इलाका प्रहरी कार्यालयमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक वुद्धिमान चोम्वाङले पनि आफ्नो भाग खोजेपछि डीएसपी श्रेष्ठ र उनीबीच खटपट भएको थियो । डीएसपी श्रेष्ठले प्रहरी निरीक्षक चोङ्वाङलाई रकम नछुट्याएपछि उनले बिर्तामोडका एक जना जनप्रतिनिधिलाई फोन गरेर घटनाको पोल खोलिदिएका थिए । त्यस लगत्तै प्रहरी निरीक्षक चोङ्वाङ्ग बिरामी भएर बिर्तासिटी अस्पताल भर्ना भएका थिए ।
प्रहरी नायव निरीक्षक श्रेष्ठ र प्रहरी निरीक्षक चोङ्वाङ्गबीचको खटपटका कारण उनलाई विभागीय कारवाही गर्दै कोशी प्रदेश प्रहरी कार्यालयको गणमा पठाइएको छ ।
यता प्रहरी नायव उपरीक्षक श्रेष्ठले ति जनप्रतिनिधिसंग माफी मागेका थिए । प्रहरी नायव उपरीक्षक श्रेष्ठले सो घटनामा पीडितसंग २५ हजार रुपैयाँ लिएको खुलेको छ ।
जेनजी आन्दोलनको समयमा इलाका प्रहरी कार्यालय पुन निर्माणका क्रममा आफैंले प्रहरी भवन बनाउन देखाएको सक्रियताका कारण उनले बाहिरी छवि राम्रो बनाएका थिए । तर, पछिल्लो समय पीडितसंग नै वार्गेनिङ गरेर रकम असुल्ने गरेको घटना सार्वजनिक भएसंगै उनी बिवादित बनेका छन् ।
विशेष गरी हिरासत कक्ष भित्र कुटपिट र गैरकानूनी रुपमा रकम असुल्न थालेपछि उनी बिवादित बन्दै गएका छन् ।

0 comments:
Post a Comment