बिर्तामोडका डान्स बार सञ्चालकले टेरेनन् प्रहरी प्रशासन

२०८२ फाल्गुन ३० गते , शनिबार


झापा ।  युवती राखेर नचाउने डान्स बार सञ्चालनमा रोक लगाउन पटक–पटक निर्देशन दिँदा पनि बिर्तामोडका केही डान्स बार सञ्चालकहरूले प्रहरी प्रशासनको आदेश अटेर गरेका छन्।
प्रहरीका अनुसार युवती राखेर नाचगान गराउने तथा निर्धारित समयभन्दा ढिलोसम्म बार सञ्चालन नगर्न सचेत गराइए पनि केही व्यवसायीले त्यसलाई बेवास्ता गर्दै सञ्चालन जारी राखेका छन्। विगतमा नेपाल प्रहरीसँगै साँठगाँठमा अबेर रातिसम्म सञ्चालन गर्दै आइरहेका कारण उनीहरुले प्रहरीलाई अटेर गरी आफुखुशी समय तोकेर डान्स बार सञ्चालन गर्दै आइरहेका छन् ।  
निर्धारितभन्दा बढी समय डान्स बार चलाउने सञ्चालकहरूलाई प्रहरीले हरेक रात पक्राउ गर्दै छोड्दै गरेको छ । डान्स बारलाई हरेक रात बन्द गराउँदै हिँड्नु पर्ने प्रहरीको लागि नियमित ड्युटीजस्तै बनिसकेको छ । डान्स बार राति अधिकतम १० देखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्छ । तर बिर्तामोडका डान्सबारहरु बढी व्यापार गर्ने लोभले रातभरि नै चलाउन खोज्दा दिनहुँ निगरानी गरिरहनु परिरहेको प्रहरीले जनाएको छ ।
गएराति १ बजेसम्म डान्स बार चलाउने चार वटा डान्स बारका ७ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा स्टार डान्स बारका कर्मचारी इलाम सूर्योदय १० घर भई हाल बिर्तामोड १० बस्ने वर्ष ४६ का तारा प्रधान , तृष्णा डान्स बारका कर्मचारी कचनकवल ४ बस्ने वर्ष २६ का सुरेश राजवंशी , सोही डान्स बारका कर्मचारी इलाम सूर्योदय १ बस्ने वर्ष २२ का सुशन लेप्चा, डीडब्लु डान्स बारका कर्मचारी इलाम माई ७ बस्ने वर्ष २० का सफल राई, सोही डान्स बारका कर्मचारी मेचीनगर १० बस्ने वर्ष ४८ का राजकिशोर साह , नाइट लाइफ डान्सवारका कर्मचारी बिर्तामोड ४ बस्ने वर्ष २५ का युगल चौधरी र गन्तव्य डान्स बारका कर्मचारी मेचीनगर ८ बस्ने वर्ष १९ का कीर्तन पौडेल रहेका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी नायव निरीक्षक उमेश श्रेष्ठको कमान्डमा टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । डान्स बारका सञ्चालकहरूले रातभरि डान्स बार सञ्चालन गर्दा अत्यधिक गुनासो आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताइन् । उनले पक्राउ गर्दै छोड्दै गरिएकोमा अब मुद्दा चलाउने जानकारी दिइन् ।
‘ रात्रिकालीन व्यवसाय गर्दा उहाँहरूले अनुशासित बन्नु पर्ने हुन्छ ’ उनले भनिन् ‘, विकृति नगरी थिति बसालेर चलाउनु भयो भने कसैलाई पनि समस्या हुँदैन । ’ अहिलेसम्म सचेत गराउँदै छोड्ने गरेकामा अब मुद्दा नै चलाउने तयारी रहेको उनले जानकारी दिइन् । बिर्तामोडमा आधा दर्जनभन्दा बढी डान्सबारहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment