इलामको देउमाई नगरपालिका–४ मंगलबारेस्थित देउमाईदेखि फाकफोकथुम जाने भित्री सडक खण्डमा जेसिबी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
आज मिति २०८३ जेठ १२ गते दिउँसो करिब ४:१५ बजेको समयमा देउमाई हाइड्रोपावरको प्र१-०२-००१ क ३९४० नम्बरको जेसिबी मंगलबारे बजारको नाली सफा गरी हाइड्रोपावर फर्कने क्रममा अचानक ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जेसिबी चालक भोजपुर नगरपालिका–५ बोखीम घर भई हाल सोही हाइड्रोपावरमा बस्दै आएका अन्दाजी २१ वर्षीय कुशल श्रेष्ठ घाइते भएका छन्। उनको टाउको र नाकमा सामान्य चोट लागेको छ।
त्यसैगरी जेसिबीमा सवार देउमाई नगरपालिका–२ पुमफुङ बस्ने अन्दाजी ४५ वर्षीया मनिता राईको टाउको तथा बायाँ आँखामा चोट लागेको प्रहरीले जनाएको छ।
दुवै घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा उपचार गरिएको थियो। मनिता राईलाई थप उपचारका लागि झापा पठाइएको छ भने चालक श्रेष्ठ उपचारपछि डिस्चार्ज भएका छन्।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएको थियो। जेसिबी घटनास्थलमै रहेको र सडक सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

0 comments:
Post a Comment