इलाम, असार ८ – इलामको रोङ गाउँपालिका–३ कोल्बुङस्थित मेची राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा झापाको बिर्तामोडका दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार साँझ करिब ६ः२० बजे कन्यामाबाट झापातर्फ जाँदै गरेको प्र–१–०१–०१८ प ९५०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडर (वाल) मा ठोक्किएर करिब १५ मिटर तल खसेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–८, गरामनी निवासी ४१ वर्षीय जितेन राजवंशी घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी मोटरसाइकलको पछाडि सवार बिर्तामोड–८, गरामनीका ५१ वर्षीय कुमार श्रेष्ठ पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ र अवस्था मध्यम रहेको बताइएको छ।
दुवै घाइतेलाई तत्काल उद्धार गरी बी एन्ड सी अस्पताल, बिर्तामोड पठाइएको प्रहरी चौकी हर्कटेले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

0 comments:
Post a Comment