इलाममा संकटग्रस्त क्षेत्रको नाममा ६ महिना ‘नाटक’, बेलासे र पुवा खोलामा अझै बेलीब्रिजकै भर, किसान र उद्योगी मर्कामा

माईपोखरी न्यूज डेस्क, इलाम ।

नेपालमा मनसुन प्रणाली सक्रिय भएसँगै कोशी प्रदेशका पहाडी जिल्लाहरूमा लगातार भइरहेको भारी वर्षाका कारण इलामको ग्रामीण सडक सञ्जाल क्षतविक्षत हुन थालेको छ। वर्षासँगै खसेको पहिरो र हिलोका कारण जिल्लाका भित्री कृषि सडकहरू अवरुद्ध हुँदा नगदे बालीको केन्द्र मानिने इलामका किसान र चिया उद्योगीहरू गम्भीर मर्कामा परेका छन्।
तर, यो प्राकृतिक विपद् भन्दा पनि ठूलो मार सरकारी उदासीनता र राजनीतिक लाचारीको बनेको छ। अघिल्लो वर्षको विनाशकारी बाढीले बगाएका महत्त्वपूर्ण पुलहरूको पुनर्निर्माण समयमै नहुँदा यस वर्षको बर्खामा इलामबासीले सास्ती खेप्नुपरेको हो।
राजदुवालीको बर्खे सास्ती: तीन जिल्लाको यातायात ठप्प
इलामको मात्र नभएर समग्र मेची पहाडकै लाइफलाइन (Life-line) मानिने मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ को राजदुवाली खण्ड अहिले सबैभन्दा ठूलो संकट बनेको छ। सामान्य पानी पर्ने बित्तिकै राजदुवालीमा माथिबाट लेदोसहितको पहिरो खसेर राजमार्ग दैनिक रूपमा अवरुद्ध हुने गरेको छ।
यो खण्ड बन्द हुनासाथ इलाम मात्र होइन, माथिल्लो पहाडी जिल्ला पाँचथर र नेपालकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल ताप्लेजुङको समेत तराईसँगको यातायात र व्यापारिक सम्पर्क पूर्ण रूपमा ठप्प हुने गरेको छ। तीन-तीनवटा पहाडी जिल्लालाई ठप्प पार्ने यो राजदुवालीको पहिरोको समस्या वर्षौँ देखिको पुरानो व्यथा हो। तर, यसको दिगो र स्थायी नियन्त्रण (Bio-engineering र स्थायी पर्खाल) का लागि सडक विभाग र सरकारले बर्सेनि उदासीनता देखाउँदा लाखौँ यात्रु, बिरामी र ढुवानीकर्ताहरूले बर्खायामभरि सास्ती खेप्न बाध्य छन्।
संकटग्रस्त क्षेत्रको नाममा ६ महिना 'नाटक', काम शून्य
अघिल्लो वर्ष इलाम लगायत पूर्वी पहाडका चिया तथा कृषि क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले यस क्षेत्रलाई ६ महिनाका लागि 'संकटग्रस्त क्षेत्र' घोषणा गरेको थियो। कानुनतः संकटग्रस्त घोषित अवधिभित्रै विशेष बजेट र द्रुत प्रक्रिया (Fast Track) बाट क्षतिग्रस्त भौतिक पूर्वाधारहरूको पुनर्निर्माण सम्पन्न गरिसक्नुपर्ने हो। तर, राज्य संयन्त्र कानमा तेल हालेर बस्दा त्यो ६ महिना केवल राजनीतिक 'स्टन्ट' र नाटक मात्रै साबित भयो। संकटग्रस्त अवधिभरि धरातलमा कुनै ठोस काम भएन, जसको सजाय आज इलामका आम नागरिक, किसान र व्यवसायीले भोगिरहेका छन्।
बेलासे र पुवा खोलामा अझै बेलीब्रिजको तयारी
अघिल्लो वर्षको बाढीले मेची करिडोर र ग्रामीण मार्ग जोड्ने बेलासे क्षेत्रको मुख्य पुल बगाएको थियो। अहिले पानी पर्ने बित्तिकै सडक पूर्ण रूपमा बन्द हुने र सञ्चालन ठप्प हुने चक्र दोहोरिएको छ। सडक विभागले अहिले त्यहाँ बल्ल अस्थायी 'बेलीब्रिज' जडानको काम अगाडि बढाएको छ, जुन काम हिउँदमै सकिनुपर्ने थियो।
त्यस्तै, सोही सडकखण्ड अन्तर्गत पर्ने पुवा खोलाको पुल पनि बाढीले बगाएपछि त्यहाँको यातायात पूरै अवरुद्ध छ। पुवा खोलामा पनि अहिले आएर मात्रै अर्को बेलीब्रिज जडान गर्ने तयारी भइरहेको छ। पक्की पुलको स्थायी समाधान खोज्नुको साटो वर्षौंसम्म अस्थायी बेलीब्रिज र ह्युम पाइपको भरमा मार्ग सुचारु राख्न खोज्नुले सडक डिभिजन र क्याबिनेटको कमजोरी छर्लङ्ग पार्छ।
चिया र अर्गानिक उत्पादन ओसार्न सकस
फागुन २५ देखि सुरु भएको चियाको यो सिजन इलामका किसानहरूका लागि हरियो पत्ती सङ्कलन गर्ने र बजार पुर्‍याउने मुख्य समय हो। तर, सडकहरू विग्रिएकै कारण साँखेजुङ लगायतका क्षेत्रका बगानबाट पत्ती प्रशोधन केन्द्र (कारखाना) सम्म र उत्पादित तयारी प्रिमियम चिया, ग्रीन टी तथा अन्य अर्गानिक उपजहरू आउटलेट वा बाह्य बजारसम्म ढुवानी गर्न ढुवानीकर्ताहरूले सास्ती खेपिरहेका छन्। समयमै कच्चा पदार्थ कारखानामा नपुग्दा चियाको गुणस्तर समेत कमजोर हुने खतरा बढेको छ।
रात्रिकालीन सवारीमा रोक
भारी वर्षाका कारण सम्भावित बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले विशेष सुरक्षा व्यवस्था लागू गरेको छ। जोखिम न्यूनीकरणका लागि मेची राजमार्ग र इलाम-बेलासे सडक खण्डहरूमा बेलुका ८:०० बजेदेखि बिहान ५:०० बजेसम्म सम्पूर्ण यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। गएको वर्षको विनासकारी बाढी-पहिरोले भत्काएका पुल र क्षतिग्रस्त सडक खण्डहरूको समयमै ठोस पुनर्निर्माण हुन नसक्दा यस वर्ष इलामको ग्रामीण अर्थतन्त्र नै धराशयी बन्ने खतरा स्थानीय जनप्रतिनिधिहरूले औंल्याएका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment