रोङ गाउँपालिकामा नयाँ कृषि परियोजना सञ्चालन हुँदै

  • गोविन्द पौडेल


रोङ, साउन ५:  इलामको रोङ गाउँपालिका कृषि तथा खाद्य प्रणाली सुदृढीकरणसम्बन्धी अन्तर्राष्ट्रिय परियोजनाको पहिलो चरणमा छनोट भएको छ।

नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) र जनवादी गणतन्त्र चीन सरकारको साझेदारीमा सञ्चालन हुने ‘नेपालमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण (Strengthening Agrifood Systems in Nepal)’ परियोजनाको औपचारिक शुभारम्भ गरिएको हो।

परियोजना पहिलो चरणमा रोङ गाउँपालिकासहित देशका तीन वटा स्थानीय तहमा कार्यान्वयन हुनेछ। २४.९९ मिलियन अमेरिकी डलर बजेट रहेको यो परियोजनाको कार्यान्वयन अवधि २४ महिना रहनेछ।

चीनको Global Development and South-South Cooperation Fund को आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाले जलवायु–उत्थानशील तथा समावेशी कृषि तथा खाद्य प्रणाली विकास, नवप्रवर्तन र डिजिटल कृषि सेवाको विस्तार, बजार पहुँच सुदृढीकरण तथा महिला, युवा र ग्रामीण समुदायका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जनामा विशेष जोड दिने रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताए।

परियोजनाको शुभारम्भ कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी, नेपालका लागि चीनका राजदूत झाङ माओमिङ, FAO को South-South and Triangular Cooperation Division की निर्देशक हुआ याङ, नेपाल तथा भुटानका लागि FAO का प्रतिनिधि केन शिमिजु, नेपाल सरकारका सचिवहरू, मण्डनदेउपुर नगरपालिकाका प्रमुख, रोङ गाउँपालिकाका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा ‘नेपालमा कृषि तथा खाद्य प्रणाली रूपान्तरणका लागि दक्षिण–दक्षिण सहयोग (South-South Cooperation) र कार्यान्वयन व्यवस्था’ विषयमा ६० मिनेट लामो प्यानल छलफल पनि आयोजना गरिएको थियो।

छलफलमा FAO मुख्यालयका कार्यक्रम अधिकृत सियाओ लियाङ, नीति अधिकृत जुन हे, रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो, R & D Innovative Solution 9Pvt. Ltd. की संस्थापक सुनिता नेमाफुकी, कृषि तथा वन मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ तथा कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीलगायतले सहभागिता जनाएका थिए।

गाउँपालिका अध्यक्ष स्याङ्बोले कृषि पेशालाई सम्मानित बनाउँदै रोजगारी र स्वरोजगार सिर्जना गरी आर्थिक समृद्धि हासिल गर्ने गाउँपालिकाको लक्ष्य रहेको उल्लेख गर्दै परियोजनामा सहयोग गर्ने नेपाल सरकार, FAO तथा चीन सरकारप्रति आभार व्यक्त गरे। उनका अनुसार परियोजनाले रोङ गाउँपालिकाको कृषि उत्पादन, बजार व्यवस्थापन र आधुनिक कृषि प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment