हतियार खरिद र ओसारपसारको हैरानी

 News Summary
  • धर्म गौतमले २०२९ सालको जाडोयामतिर नक्सालबारीबाट गिरिजा दाइसँग सारनाथ पुगेर बीपीसँग पहिलो पटक कुराकानी गरेको सम्झना सुनाएका छन्।
  • उनले सारनाथस्थित बीपी निवासमा दाल, भात, तरकारीसहितको सामूहिक बसाइ, बैठक र अतिथिसँग भेटघाट हुने व्यवस्था वर्णन गरेका छन्।
  • उनले गिरिजा दाइको बीपीका लागि सम्पर्क सूत्र, पार्टी काम र हतियार जोगाडसमेतको जोखिमपूर्ण जिम्मेवारी रहेको बताएका छन्।

म पहिलो पटक बीपीसमक्ष कहिले पुगें, त्यसको तिथिमिति अहिले सम्झनामा छैन । तर, त्यो २०२९ सालको जाडो यामतिरको एउटा दिन हो । म नक्सालबारीबाट गिरिजा दाइका साथ त्यहाँ पुगेको थिएँ । त्यसबखत बीपी सारनाथमा भाडाको घरमा बस्नुहन्थ्यो । त्यहीँ पहिलो पटक मैले उहाँसँग कुराकानी गर्ने अवसर पाएँ । त्यसको ६ महिनाअघि सिलिगुडीमा उहाँलाई एक झल्को देखेको थिएँ । हामी उहाँ बसेको ठाउँ पुग्दा उहाँ यात्रामा निस्किँदै हुनुहुन्थ्यो, गाडीबाटै हाम्रो समूहलाई केही भनेर उहाँ बिदा हुनुभएको थियो ।
सारनाथ बनारस सहरको उत्तर-पूर्वतर्फ १० किलोमिटर जतिको दूरीमा अवस्थित छ । यो त्यही ठाउँ हो जहाँ भगवान् बुद्धले पहिलो पटक धर्मोपदेश दिएका थिए । शान्त वातावरण भएको सारनाथ बौद्ध धर्मावलम्बीहरूका लागि एउटा पवित्र तीर्थस्थल हो ।
सधैं सफा राखिने सारनाथको मुख्य भागमा रहेको भव्य गुम्बा र त्यसको पृष्ठभागको सुन्दर उद्यान मेरो सम्झनामा हरदम ताजा रहने गरेको छ । त्यस उद्यानमा मृगहरू चर्दै खेल्दै गरेका देखिन्थे । त्यो उद्यानभन्दा करिब सय मिटरको दूरीमा थियो बीपी निवास ।
बीपी निवासमा मूलढोकाबाट त्यस घरभित्र छिर्दा बायाँ भागमा भित्तामा टाँसिएको वारपारको एउटा दराज थियो सिसाका खोपाहरू भएको । त्यसमा केही पुस्तकहरू थिए ।


सिधै अगाडि बढ्‌दा अर्को ढोकाबाट कोरिडोर पार गरी अझ अर्को ढोकाबाट बाहिर निस्कँदा पछाडिको भागमा कम्पाउन्ड वाल भएको खुला ठाउँमापुगिन्थ्यो जसका दायाँ-बायाँ एकाध कोठा थिए- भान्सा र शौचालय पनि र माथि चढ्ने सिँडी जसबाट उक्लिँदा बीपीको शयनकक्ष पुगिन्थ्यो । अरू केही कोठा थिए । तिनका माथि फराक छत ।


अग्रभागको मूलकोठामा दायाँपट्टि एउटा फराकिलो चारै कुनालाई हल्का गोल्याइएको टेबल थियो । त्यस टेबलवरिपरि सात-आठ कुर्सी रहन्थे ।
अधिकतर आगन्तुकहरूलाई त्यहीं बसाइन्थ्यो र उनीहरूसँग बीपी त्यहीँ भेटघाट गर्नुहन्थ्यो । त्यस अर्थमा यसलाई बैठककोठा भने हुने ।
खाना खाने बेला त्यस टेबललाई डाइनिङ टेबलका रूपमा समेत उपयोग गरिन्थ्यो । बीपीसहित हामी सबै त्यहीँ बसेर एकसाथ खान्थ्यौँ । साधारण खाना अर्थात् दाल, भात, तरकारी ।
यदाकदा दही वा माछा या मासु । फलफूलमा सिजनमा आँप हुन्थ्यो । ब्रेकफास्टको चलन थिएन, नौ बजेतिर खाना, दिउँसो चिया र बेलुकी पुनः खाना ।
बीपीको खान्की थोरै तर गिरिजा दाइको भन्दा चाहिँ धेरै । भात त गिरिजा दाइ हाम्रो गतिलो एक गाँसभन्दा पनि कमजस्तो खाने ।
आफूलाई त लगभग मानै चाहिने । मैले भात थप्दा बीपी ठट्टा गरेर भन्नुहुन्थ्यो, ‘तिमीहरूको मस्तिष्क तिमीहरूले खाएको भात पचाउनमा नै सबैभन्दा बढी खपत हुन्छ । अनि अरू के गर्न सक्छौ। शैलजा दिदी सान्त्वना भावमा आँखाको इसारा गर्नुहुन्थ्यो- बाबैको कुरा नसुनी खपाखप खानुस् ।
त्यस टेबलभन्दा पछाडि अर्थात् अझ दायाँ भागमा भित्तापट्टि मारवाडीहरूको जस्तो निकै फराक र अग्लो गद्दी थियो। त्यो गद्दीमा हामी साथीभाइ बसेर बाचचित गर्थ्यो । रातिको मेरो ओछ्‌यान पनि त्यही थियो। काम नहुँदा र अरू मानिस नभएका बखत दिउँसो ढल्केर पढ्‌ने मेरो ठाउँ पनि त्यही गद्दी ।
बनारसमा बस्ने कति साथीहरूको आ-आफ्नै डेरा थियो सहरका गल्लीतिर । सामूहिक रूपमा बस्ने पार्टीका नेता कार्यकर्ता गंगा किनारमा रहेको भाडाको घरमा बस्थे ।
मैले भात थप्दा बीपी ठट्टा गरेर भन्नुहुन्थ्यो, ‘तिमीहरूको मस्तिष्क तिमीहरूले खाएको भात पचाउनमा नै सबैभन्दा बढी खपत हुन्छ ।
यस्तो सामूहिक बसाइ भएको ठाउँलाई हामी क्याम्प वा अफिस भन्ने गथ्र्यौ। त्यहाँ सबैका लागि भोजन तथा आवासको सामूहिक व्यवस्था थियो । निर्वासनमा भारतका विभिन्न ठाउँमा बस्ने पार्टीका नेता-कार्यकर्तालाई बनारस पुगेका बखत त्यहीँ बसाइन्थ्यो । बीपीलाई भेट्न उनीहरू सारनाथ आउँथे र काम सकेपछि उतै फर्कन्थे । बनारस पुगेका बखत गणेशमानजीलाई भने बीपी निवासमै बस्ने व्यवस्था हुन्थ्यो ।
सारनाथमा भाडामा लिएको घर बीपीको पारिवारिक निवासजस्तो थियो । त्यहाँ बीपीकी आमा, पत्नी सुशीला, गिरिजा दाइ, नोना भाउजू, शैलजाजी र बेलाबखत बीपीका पुत्रहरू, छोरी-बुहारी आदिको पनि अल्प उपस्थिति रहन्थ्यो । पहिले आमा अधिकतर विराटनगरतिरै बस्नुहुन्थ्यो । सुशीला भाउजू पनिकहिले कहिले आउजाउ गर्ने ।
त्यसो भएकाले त्यहाँ अधिकतर बीपी गिरिजा दाइ, नोना भाउजू र शैलजा मात्रै । गिरिजा दाइ र नोना भाउजू पनि अधिकतर पार्टी संगठनलगायतको काममा भारतका विभिन्न ठाउँमा आवतजावत गरिरहनुहन्थ्यो । कहिले त त्यहाँ बीपी र खाना बनाउनेलगायतको घरको काम गर्ने एक जना साथी मात्रै ।
मलाई बीपीसँग परिचय गरेको सम्झना छैन अर्थात् मैले म फलानो भनेर आफूलाई उहाँसमक्ष चिनाएको जस्तो लाग्दैन। गिरिजा दाइले मेराबारे बताउनुभयो होला उहाँलाई । पहिलो पटक म त्यहाँ तीन रात दुई दिन रहें, त्यसबेला उहाँबाट पाएको वात्सल्यभाव र स्नेह अविस्मरणीय छ ।
त्यति ठूलो मानिस कति सरल र सहज- वन्डरफुल्ली वेलकमिङ एन्ड अफेक्सनेट । बीपीसँगको पहिलो भेट अहिले पनि आँखामा जस्ताको तस्तै आउँछ । पहिलो भेट हुँदै होइनजस्तो । ‘डेजाभु’ जस्तो !
तेस्रो दिन सबेरै गिरिजा दाइसँग निस्कियौं अन्यत्र पार्टीको काममा। गिरिजा दाइसँगको भ्रमण नेपालको सीमाक्षेत्रमा रहेका पार्टीका क्याम्पहरूतिर हुन्थ्यो । त्यहाँ साथीहरूसँग भेट्ने, पार्टीको संगठनलगायतका विषयमा छलफल गर्ने काम नै मुख्य हुन्थ्यो ।
गिरिजा दाइको अर्को काम थियो भारतका विभिन्न ठाउँमा रहेका त्यताकै नेता र शुभचिन्तकहरूसँग बीपीको सम्पर्क सूत्रको रूपमा काम गर्ने । अहिलेको जस्तो सञ्चार सुविधा थिएन। यस क्रममा उहाँ अधिकतर पटना, अनि कलकत्ता र दिल्लीतिर आउजाउ गर्नुहुन्थ्यो ।
दुई-चार पटक यस्ता यात्रामा पनि म उहाँका साथ रहेको छु। एक प्रकारले भारतका विभन्न ठाउँको मेरो पहिलो भ्रमण गिरिजा दाइसँगै भएको हो।
सिलिगुडीतिर आउँदा उहाँ प्रायः दार्जिलिङ जानुहुन्थ्यो र अधिकतर नक्सलबारीबाट मलाई साथमा लिनुहुन्थ्यो । त्यता पनि भेटघाट नै हो र त्यही भेटघाटको आवरणमा हतियार खरिद र संकलन हुन्थ्यो। त्यसताका शशांक नर्थ पोइन्ट स्कुलमा पढ्थे ।
गिरिजा दाइसँगको भ्रमण नेपालको सीमाक्षेत्रमा रहेका पार्टीका क्याम्पहरूतिर हुन्थ्यो । त्यहाँ साथीहरूसँग भेट्ने, पार्टीको संगठनलगायतका विषयमा छलफल गर्ने काम नै मुख्य हुन्थ्यो ।
उनलाई पनि सधैंजसो भेट्‌ने गर्नुहुन्थ्यो । एक पटकचाहिँ उनीसँग भेट हुन सकेन, उनी आउटिङमा कतै गएका रहेछन् ।
तेस्रो उहाँको जिम्मेवारी थियो हतियारको जोगाड गर्ने। यो बडो कठिन र जोखिमको काम थियो। स-साना हतियारहरू अधिकतर आपराधिक क्रियाकलापमा संलग्न स्थानीयहरूसँग लिनुपर्ने ।
कतिले धोका दिन्थे, बडो दुःखले जोरजाम गरेको पैसा खाइदिन्थे । सुरक्षाको चुनौतीसमेतको सामना गर्नुपर्थ्यो ।
हतियार पाइहाल्यो भने त्यसलाई लिएर आफ्नो सुरक्षित स्थानसम्म पुयाउनु अर्को चुनौतीपूर्ण काम थियो । गिरिजा दाइ अधिकतर बीपीको एम्बासेडर कार लिएर यात्रा गर्ने ।
उहाँको सुरक्षालाई भनेर तीन-चार भारतीय पुलिस एउटा जिपमा उहाँको पछुवा लाग्थे। सुरक्षासँगै गिरिजा दाइको गतिविधिको चियो गर्नु उनीहरूको ड्युटी हुँदो हो। त्यसैले हतियार ओसारपसारमा तिनको पनि आँखा छल्नुपर्ने भए पनि तिनका कारण अरू पुलिसको डर भने कम थियो ।
ती सुरक्षा निकायका मानिसहरू गिरिजा दाइलाई बडो सम्मान गर्थे । गिरिजा दाइ पनि दार्जिलिङ, कलकत्ता, दिल्लीतिर गएका बखत पैसा छ भने कपडा आदि किनेर तिनलाई उपहारको रूपमा दिनुहुन्थ्यो। कहिले त मलतिर पसेका बेला के लिन्छौ भनेर रोजाउनु नै हुन्थ्यो ।
विभिन्न सुराकीमार्फत हतियारका कालोबजारियासम्म पुगेर किनेका रिमोल्बर, ग्रिनेड, राइफलका गोली कहिले त जीउमा बाँधेर बाहिरबाट ज्याकेट लगाएर हिँडिन्थ्यो ।
यस्तो काम नोना भाउजूले समेत धेरै पटक गर्नुभएको देखेको छु । बाटामा खाजा खान निस्कँदा पनि अररो भएर निस्कनुपर्ने ढाड सङ्केजस्तो वहाना गर्दै ।
भारत प्रवासमा साढे चार वर्ष रहँदा बीस-बाइस पटकजसो सारनाथ आउजाउ गरियो होला । कहिले एक रात मात्रै बसियो, कहिले एकाध दिन वा एक साता । एक पटक भने महिना दिनजसो बस्नुपर्यो उपचारका लागि । एक रात छाडेर म सधैं सारनाथ बीपी निवासमै रहें ।
कुनै बखत दुई-चारको समूहमा पनि पुगियो । त्यहाँ पुगेर बीपी, गिरिजा दाइसँग भेट गरेपछि अरू साथीहरूलाई बनारस सहरमा रहेको पार्टी अफिसमा पठाइन्थ्यो तर मलाई भने त्यहीँ बस्न भनिन्थ्यो ।
निर्वासनमा रहेका सबै प्रायः मभन्दा अग्रज नै थिए तर अपवादमा, त्यो पनि रात पन्यो वा मौसम एकदम प्रतिकूल भयो भने, कोही एक रात त्यहाँ बसे पनि भोलिपल्ट उतै जान्थे ।
सधैंजसो दिउँसो पार्टी अफिसतिर बस्ने कोही न कोही साथीहरू बीपीलाई भेट्न आउँथे । गफगाफ हुन्थ्यो, बेलुकीपख फिर्थे । उनीहरूसँग उतै गएर एक दिन भए पनि बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो मलाई तर त्यसो गर्न मलाई अनुमति मिल्दैन थियो । त्यसका लागि गिरिजा दाइलाई भन्दा ‘सान्दाजुलाई सोध भन्ने, उहाँलाई सोध्न अलिक असहज लाग्ने । एकाध पटक सोध्दा पनि यसोउसो भनेर अल्झाइदिने । त्यसपछि त सोधिरहने कुरा पनि भएन ।
(यो धर्म गौतमको यसै साता प्रकाशित पुस्तक ‘बीपी र विद्रोहका तीन दिन’ पुस्तकबाट लिइएको हो)
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment