रसुवाको बाढीपछि इलामका विभिन्न क्षेत्रका यात्रु सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता


इलाम : रसुवाको टिमुरे तथा चीनसँगको केरुङ सीमा क्षेत्रमा आएको बाढी र त्यसपछि अवरुद्ध भएको यातायात तथा सञ्चार सम्पर्कका कारण इलामका विभिन्न स्थानका यात्रु तथा स्थानीयवासी सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा इलाम नगरपालिका, सन्दकपुर, देउमाई र माई नगरपालिकाका नागरिक रहेका छन्।
इलाम नगरपालिका निवासी राजकुमार दियाली, उनकी श्रीमती सृष्टिका दर्नाल र छोरा श्रीराज दियाली बाढीपछि परिवारसँग सम्पर्कविहीन भएका छन्। पारिवारिक स्रोतका अनुसार उनीहरूको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन।
त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङ हुतुलुङ निवासी देवानन्द सुवेदी (दीपक सुवेदी) पनि चीन सीमास्थित टिमुरे क्षेत्रमा अन्तिमपटक सम्पर्कमा आएपछि परिवारसँग सम्पर्कविहीन भएका छन्।
उनी बा १ ज ४८९७ नम्बरको गाडीसँगै सम्पर्कविहीन भएको परिवारले जनाएको छ। परिवारका अनुसार उनीसँग बिहान करिब ७ः३० बजे अन्तिमपटक सम्पर्क भएको थियो। यसैबीच, गोसाइँकुण्ड यात्रामा निस्किएका माई नगरपालिका–७, लक्ष्मीबाँधका नरेन्द्रप्रसाद दाहाल पनि परिवारको सम्पर्कमा आउन सकेका छैनन्। उनीलगायत यात्रुहरू सवार बा ६ ख ८५६५ नम्बरको यात्रुबाहक बस काठमाडौँको नयाँ बसपार्कबाट आज बिहान ६ बजे गोसाइँकुण्डतर्फ प्रस्थान गरेको थियो।
उक्त बस बिहान करिब ८ः४५ बजे नुवाकोटको गङ्गटे पुगेपछि बस तथा यात्रुहरूसँग सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्। सोही बसमा देउमाई नगरपालिका–९ का बुद्धिसागर र खिनामाया पनि यात्रा गरिरहेको जनाइएको छ। उनीहरू पनि रसुवा क्षेत्रमा बाढी आएपछि परिवारसँग सम्पर्कविहीन भएको बताइएको छ।
बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा सडक अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कसमेत प्रभावित भएपछि यात्रुहरूसँग सम्पर्क हुन नसकेको आशंका गरिएको छ। परिवारजनले सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय, स्थानीयवासी तथा उद्धार टोलीलाई खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment