इलाममा बेलीब्रिजका सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु


इलाम । इलाम नगरपालिका–१० बाह्रगोलाईस्थित मेची राजमार्गमा बेलीब्रिजका सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिहीबार (२०८३ भदौ १८ गते) दिउँसो करिब ४ः४५ बजे झापाबाट इलामतर्फ आउँदै गरेको WB29B2944 नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकको दाहिनेतर्फ करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक प्रविण जोशी ज्ञवालीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार ट्रकमा सवार तीन जनामध्ये सहचालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमै मृत्यु भएको छ।

ट्रक चालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३० वर्षीय रबिन बर्मुन बाहिरी चोटपटक नदेखिएको र बोल्न सक्ने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, ट्रकमा सवार सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ निवासी २९ वर्षीय आशबहादुर तामाङको बायाँ हातमा सामान्य चोट लागेको र उनको अवस्था पनि सामान्य रहेको जनाइएको छ।

घाइते दुवै जनालाई उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment