इलामको रोङमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु


इलाम । इलामको रोङ गाउँपालिका–५ देवनथापमा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मिति २०८३ असोज ६ गते राति ७ः३० बजे देवनथापबाट झापातर्फ जाँदै गरेको प्र.१–०४–००१ त १२३६ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा ट्र्याक्टरको अगाडिको भागले थिचिएर चालक झापाको मेचीनगर नगरपालिका–५ नकलबन्दा निवासी ४० वर्षीय अमित धिमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी इरौटारबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी असोज ७ गते राति करिब १ बजे मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा पठाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

— माइपोखरी न्युज

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment