इलाम। इलाममा फलफूल बोक्ने ट्रकमा लुकाएर लैजाँदै गरेको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार २०८३ असोज ६ गते अन्दाजी साँझ ६:३५ बजे इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गमा चेकजाँचका क्रममा गाँजा बरामद गरिएको हो।
प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोलीले राजदुवाली सडकको अवरोधका कारण सवारीसाधनलाई डाइभर्सन गर्ने क्रममा ना.७ ख ८११६ नम्बरको फलफूल बोक्ने ट्रक जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको फल्स बटम बनाई त्रिपालले छोपेको अवस्थामा बोरामा लुकाएर राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजा ४१ बोरा रहेको र तौल गर्दा १ हजार ५०४ किलो ६१० ग्राम भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

0 comments:
Post a Comment