दुई शताब्दी पुरानो लाप्चा गुम्बा जीर्ण बन्दै

तस्वीर संवन्धित समाचारको होइन
इलाम– सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामका लोपोन्मुख लाप्चा समुदायको पहिचान बोकेको दुई शताब्दी पुरानो ऐतिहासिक गुम्बा संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । गोदक, सूर्सोदय नगरपालिका, कोल्बुङ, पशुपतिनगर, नयाँबजार, जोगमाइलगायत १५ गाविस र नगरपालिकामा मात्र बसोबास गर्ने लाप्चा जातिको ऐतिहासिक गुम्बा संरक्षण नहुँदा भत्किन थालेको छ । संरक्षणको अभावमा गुम्बा भत्किएर स्वरूप फेरिँदै गएको छ । समयमै गुम्बाको जीर्णोद्धार नगरे लाप्चाको ऐतिहासिक पहिचान मेटिने भएको छ । गुम्बा लोपोन्मुख लाप्चाको अध्ययन केन्द्रको रूपमा रहेकोले इतिहाससमेत समाप्त हुने सरोकारभएकाहरु बताउँछन् ।
फिक्कलको कजेनीमा ६५ रोपनी क्षेत्रफल गुम्बा परिसरले ओगटेको छ । करिब २०० वर्ष पुरानो गुम्बा संरक्षणका लागि पहल गर्न जिल्ला विकास समिति र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई अनुरोध गरेपनि अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको लाप्चा उत्थान मञ्चका अध्यक्ष वीरबहादुर लाप्चाले बताए । भत्किएको गुम्बामै अहिले दैनिक बिहान र बेलुकी, औँसीमा पूजाआजा हुने गर्दछ । बुद्धजयन्तीका दिन भने विशेष पूजा गरिँदै आएको गुम्बाका पुजारी सोनाम लाप्चा बताउँछन् । गुम्बा ऐतिहासिक महत्वको भएकाले संरक्षणका लागि सरकारी निकायले चासो दिनुपर्ने स्थानीय लाप्चा समुदायको भनाइ छ । गुम्बामा ४० वर्षअघि चोरी हुँदा ऐतिहासिक दस्तावेज, पुराना अभिलेखसमेत हराएका थिए । त्यसबखत महत्वपूर्ण अभिलेख र बहुमूल्य सुन, हिरा, मोतीलगायत धातुका मूर्ति चोरी भएको सूर्योदय नगरपालिकाका काजीमान कागते बताउँछन् । त्यतिबेलै गुम्बाको अभिलेख हराएकाले २०० वर्षभन्दा पुरानो हुनसक्ने उनको भनाइ छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व पूर्वी क्षेत्रमा बसोबास गर्दै आएका लाप्चा समुदायले गुम्बा बनाएको हुनसक्ने स्थानीयबासी बताउँछन् । सुरूमा काठ बङ्ग्याएर कलात्मक आकृतिमा निर्माण गरी खरको छानाले छाएको भए पनि पछि गुम्बा संरक्षण समितिले ६५ रोपनी क्षेत्रफलमा रहेको रूख बिक्री गरी जस्ताको छाना लगाइएको छ ।
गुम्बामा स्थानीय लाप्चा समुदायसँगै बौद्ध धर्ममा आस्था राख्ने अन्य समुदायले पूजाआजा गर्दै आएका छन् । प्राचीन शासक भनेर चिनिने लाप्चा समुदायले गुम्बालाई आफ्नो शक्तिपीठका आधारमा प्राचीनकालमा पूजा गर्दै आएको स्थानीय जानकार बताउँछन् ।
लाप्चा समुदायले गुम्बामा दैनिक पुजा गर्दै आएका छन् । विसं २०४६ सालपछि स्थानीय विकास मन्त्रालयबाट गुम्बा संरक्षणका लागि रु ३० हजार मात्र सहयोग प्राप्त भए पनि हालसम्म स्थानीयबाटै सहयोग जुटाएर सञ्चालन गर्दै आएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment