पहिलो राष्ट्रिय किवी महोत्सव शुरु (फोटो फिचर)


इलाम, १६ पुषः नेपाल उद्योग बाणीज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुक आर्थिक रुपले जर्जर अवस्थामा रहेकाले कुनै पनि आन्दोलन अव नथेग्ने अवस्थामा रहेको बताएका छन् । इलाम चोक बजारमा बुधबार देखि शुरु भएको प्रथम राष्ट्रिय किवी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष मुरारकाले आन्दोलनकारी दलहरु र सत्ताधारी दल दुवै तर्फले लचकता देखाएर मुलुकलाई निकास दिन आग्रह गरे । औद्योगिक क्षेत्र तहसनहस भएपनि किसान र उद्यमीहरुको साझा मेहनतले उत्पादनमा भने सुधार हँुदै गएकाले यसको मुल्य अभिबृद्धिमा काम गर्न उद्योग बाणीज्य महासंघ तयार भएको उनले बताए । कार्यक्रममा महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्ष शेखर गोल्छा लगायतले किवी जस्ता बहुमुल्य फलफूलको उत्पादन र प्रचार आवश्यक रहेको बताए । 
इलाम उद्योग वाणीज्य संघ र जिल्ला कृषि बिकास कार्यालय इलामको आयोजनामा बुधबारदेखि तीन दिन सम्म चल्ने महोत्सवमा इलाममा प्रमुख रुपमा विगत सात वर्षदेखि उत्पादन शुरु भएको किवी फल र त्यसवाट बनेका जुस, जाम, मिठाई, समेतको स्टलहरु राखिएका छन् । यस्तै महोत्सवमा कृषि औद्योगीक मेला र प्रदर्शनी समेत आयोजना गरिएको छ । महोत्सवमा किवी वाहेक ग्राउण्ड एप्पल, दुधका परिकारहरु पनि छन् ।  इलाम उद्योग बाणीज्य संघकी अध्यक्ष शुशीला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, नेपाली काङ्ग्रेसका जिल्ला सचिव राजेन्द्र शर्मा, एनेकपा माओबादीका राम राई, इलाम नगरका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङ, जिल्ला विकास समिति इलामका स्थानीय विकास अधिकारी मदन कोइराला जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत प्रकाश कुमार डाँगी समेतका बक्ताहरुले कृषिको दिगो विकास र उद्योगीकरणमा सवैको सहयोग आवश्यक रहेको बताए । 
जिल्ला कृषि विकास कार्यालयका अनुसार इलाममा बार्षिक चार करोड बढिको किवी कारोबार हुने गरेको छ । हाल सम्म ७५ हेक्टर क्षेत्रमा किवी खेती विस्तार भएको छ । देशमै पहिलो पटक इलाममा यस खेतीलाई एक गाउ एक उत्पादन कार्यक्रम अन्तर्गत उद्योग बाणीज्य महासंघले कार्यक्रम संचालन गरिरहेको छ । 








प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment