सिलिगुरी १९ पुषः भारतको दार्जिलिङ जिल्ला स्थित सिलिगुरीमा अङ्गे्रजी नयाँ वर्ष २०१६ को अवसरमा आयोजित दार्जिलिङ सुन्तला महोत्सवमा इलाम जिल्लाको पनि सहभागिता रहेको छ ।
जिल्लाको प्रमुख पर्यटकीय स्थलहरुको प्रचार–प्रसार र हाते उद्योगहरुको उत्पादन विक्रि गर्ने उदेश्यले महोत्सवमा इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका सदस्यहरु सिलिगुरीमा रहेका छन् । महोत्सवमा इलामको जिर्मले सलकपुरको सुन्तला पनि समावेश गरिएको छ । सलकपुरका कुमार मोक्तान सहित किसानहरुले सुन्तला, मह र एभोकार्डोको स्टल राखेका छन् । इलामको उत्पादन घरेलु ढाका, हस्तकला सामग्री, ललीपप, बम्बैसन, छुर्पी समावेश रहेको छ । सिलिगुरीमा रहेको सिटी सेन्टरमा आयोजित महोत्सवमा दार्जिलिङ, कालिम्पोङ क्षेत्रका सुन्तला किसान व्यवसायि र सरोकारवालाहरुको भिड लागेको छ । महोत्सवमा सुन्तला अवलोकनका लागि व्यापक जनसहभागिता रहेको छ । त्यहाँ मिरिकको सुनाखरी, स्ट्रवेरी, सुन्तला, नेपाली ढाकाका कपडा लगायतका सामग्री राखिएको छ । यसैवीच शुक्रबार साँझ सिटी सेन्टरमा एक भव्य कार्यक्रमबीच दार्जिलिङ सुन्तला महोत्सवको उद्घाटन गरियो । आयोजक एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिज्म अध्यक्ष शङ्कर मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा झापाका पत्रकार चन्द्र भण्डारी, बाहुनडाँगीका अर्जुन कार्की, समितिका महासचिव देवी पौडेल, कालेम्पाङकी लक्ष्मी लिम्बु, योगेश प्रधान, देव वशु समेतका बक्ताले महोत्सवले पुर्वी पहाडमा उत्पादित सुन्तलाको प्रवद्र्धनमा सहयोग पुग्ने र किसानहरु माझ उत्पादनमा प्रोत्साहन मिल्ने बताए । बशुले दार्जिलिङ क्षेत्रमा पहिलो पटक सुन्तला महोत्सवको आयोजना भएको र यस्तो महोत्सवमा नेपाल र भुटानका पर्यटकहरुको व्यापक सहभागीता रहेको बताइएको छ । उद्घाटन कार्यक्रममा धुलाबारीको ब्राइट फ्युचर स्कुल र नक्सालका विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । तीन दिन चल्ने महोत्सवमा चिनको तीब्वत र भुटानको साँस्कृतिक प्रदर्शन, सुन्तला किसानहरुसँग छलफल, सुन्तला खाने प्रतियोगिता समेत आयोजना गरिएको छ । यस अघि गत वर्ष पश्चिम बङ्गालकै कोलकत्तामा सुन्तला महोत्सव आयोजना भएको थियो ।
0 comments:
Post a Comment