पुर्व नेपाल च्याम्पियन सहितका चेस खेलाडी इलाममा


इलाम, ६ जेठः १९ औं राष्ट्रिय चेस च्याम्पियनसीपमा सहभागी हुन पुर्व नेपाल च्याम्पियनहरु सहित राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका चेस खेलाडीहरु इलाममा आईपुगेका छन् । पुर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ, नविन तण्डुकार र मनिष हमाल इलाम आइपुगेका हुन् । प्रतियोगिताको औपचारिक उद्घाटन हिजो गौतमबुद्ध सभागृहमा भएपनि खेल भने आजबाट मात्र शुरु हुन लागेको हो । उद्घाटन कार्यक्रम अघि विभिन्न झाँकी सहितको ¥यालीले इलाम बजार परिक्रमा गरेको थियो । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमूख अतिथि तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चेस खेललाई राज्यले उपेक्षा गरेको गुनासो गरेका थिए । उनले अन्य खेलका लागि सरकारले बजेट छुट्याएपनि चेस खेलको लागि भने अहिले सम्म कुनै काम नगरेको उल्लेख गरेका थिए । उनले चेस खेलको विकासका लागि घर–घरमा चेसको विकास गर्नुपर्ने बताए । उनले अन्तराष्ट्रिय प्रतियोगिताबाट मेडल ल्याउन सक्ने खेलाडी उत्पादन गर्न नेपाल ओलम्पिक कमिटीले पनि आफ्नो तर्फबाट कार्य गरिरहेको बताए । 
त्यस्तै कार्यक्रमका सभापति तथा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले चेसबाट देश चिनाउने अभियानमा नेपाल बुद्धिचाल संघको रहेको भन्दै अन्तिम पाँचमा छनोट हुने पुरुष तथा महिला खेलाडीहरु अजरबैजानमा हुने ओलम्पियाडमा सहभागि हुनपाउने बताए ।  कार्यक्रममा सबै राजनीतिक दलको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्य, नेपाल बुद्धिचाल संघका पुर्व अध्यक्ष राजेस्वरी जोशी, राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेल, इलाम बुद्धिचाल संघका अध्यक्ष यामप्रसाद लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा तेक्वान्दो संघ, उसु संघ र कराँते संघले आफ्नो प्रस्तुति राखेका थिए भने गायक बिमल गौतमले चेस सम्बन्धि आफ्नै गीत प्रस्तुत गरेका थिए । प्रतियोगितामा विभागिय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल सहितका गरी पुरुषतर्फ ३५ जना र महिला तर्फ १८ जना प्रतिस्पर्धा गर्दैछन् । नौ राउण्ड सम्म चल्ने प्रतियोगितामा आज दुई राउण्ड खेल हुनेछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment