किन उपेक्षित छ ठूलो टुडिँखेल

इलाम सदरमुकामको तल्लो भागमा रहेको खेल मैदान ठूलो टुडिँखेल सबैको लागि आवश्यक भैइकन पनि सबैबाट उपेक्षित रहेको छ । इलाममा हुने सभा समारोह या प्राकृतिक प्रकोपबाट बच्न आवश्यक खुल्ला स्थान होस वा सबै खाले खेलकुदका गतिविधिहरु संचालनको एक मात्र विकल्प भनेको यही टुडिँखेल हो । यति हुँदा हुँदै पनि यसको उचित संरक्षण सम्वर्धन र स्तरोन्नति तर्फ कसैको चासो नदेखिनु आफैमा दुखद छ ।
वि.स. १९९३ सालमा तत्कालिन इलाम स्थित श्रीनाथ पल्टनले आफनो कवाज व्यायाम खेल्ने मैदानको लागि यसलाई सम्याउने काम गरको पाइन्छ । जग्गा धनी राइटर छविलाल काफ्लेबाट अधिग्रहण गरिएको हालको यो टुडिँखेल त्यो बेला घना बाँसघारी र कान्ले बारी रहेकोले यसलाई सम्याउनलाई सयौ हल गोरु नारिएको बृद्धहरु बताउँछन् ।
राणाकालिन अवस्थामा सेनाले अधिग्रहण गरेको यो खेल मैदान हाल समेत सेनाको सम्पतिको रुपमा रहेको छ । नेपाली सेनाको स्वामित्वमा रहेको भए पनि खेलकुद सभा समारोह जस्ता कार्यहरु निर्वाध हुन पाएको अवस्था छ ।
नेपालको पुरानो नगरपालिकाको रुपमा रहेको इलाम नगरपालिका जेठो नगरपालिका भएर पनि सवल, सक्षम र समृद्ध नगरपालिकाको लागि आवश्यक पूर्वशर्त जस्ता कुरामा आँखा चिम्लिनु गैर जिम्मेवारपन हो । प्रकृतिले सिँगारेको इलाम, योजनाबद्ध विकासका प्रयत्नहरु हुने हो भने स्वर्गको टुक्रा बन्न सक्छ । इलाम र इलामेलीहरुले भाग्य र भविष्य सँग जोडिएको ठूलो टुडिँखेल नगर जिल्लाको विकासे मानचित्रमा कहिल्यै अटाउदैन किन ? यसलाई यहाँका राजनेताहरुको क्षमता भन्ने हो कि अक्षमता ?
आजको मितिबाट पछाडी फर्केर हेर्ने हो भने यो टुडिँखेल लम्याइएको ८० वर्ष भएछ । यो ८० वर्षको समय अवधिमा यो मैदानको लागि भनेर नगरपालिका, जिल्ला विकास समिति नेपाली सेना, सांसद वा सरकार कतैबाट पाँच पैसा लगानी भएको छैन् । माइभ्याली फुटबल कल्ब र जिल्ला फुटबल संघको पहलमा फुटबल खेलका लागि आवश्यक पर्ने साइजमा ल्याउन माटो काट्ने, भित्ता काट्ने काम पश्चात मैदान साइजमा त आयो तर ठूलो टुडिँखेलको सम्पतिको रुपमा रहेको गलैचा जस्तो हरियो घोडे दुबो सबै मासिएर धुले मैदान मात्र रहन पुग्यो ।
इलामको मुटुको रुपमा रहेको यो खेल मैदानमा स्तरीय फूटबल प्रतियोगिताहरु हँुदै आएका छन् । वि.सं.२०४५ सालमा भुकम्पमा परेर जीवन गुमाएकाहरुको सम्झनामा संचालित भुकम्प पिडित स्मृति कप देखि लिएर वि.सं.२०७१ साल देखि संचालित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली कोल्डकप यसका उदाहरण हुन् । जिल्ला फुटबल संघको संयोजन र माइभ्याली फुटबल क्लबको आयोजनामा संचालित यो प्रतियोगीतामा भारत, बंगलादेश, भुटान, सिक्किम र देश भित्रका ए डिभिजनका प्रतिष्ठित क्लबहरुको सहभागीता रहनुले चर्चित खेलाडीहरुको उपस्थिती रहने स्पष्ट छ ।
इलामको खेल मैदान खेलको लागि उपयुतm छैन, तथापि यहाँको प्राकृतिक सुन्दरता, शिष्ट शुशिल र शालिन दर्शकहरुको मोहले यहाँ नआई सक्दैनौ खेलाडी तथा अफिसियलहरु भन्छन् । हुन पनि मैदानमा चौर छैन् । ढुँगा जस्तो कडा मैदान छ । जसको कारण खेलाडीहरु चाहे जस्तो खेल कौशल देखाउन नसक्ने मात्र होइन घाइते बन्ने अधिक सम्भावना रहन्छ । यि सबै कुराको जानकारी इलामको विकासको भाषण ठोकेर नथाक्ने नेता र पाटी एवम् विकासे अड्डा र निकायहरुलाई छैन र ? तर पनि सबै चुप छन् किन ?
इलाम नगरपालिकाको क्षेत्रमा रहेको या खेल मैदानको अर्को कुनै विकल्पनै छैन् । स्वामित्व सेनाको रहे पनि यसैलाई स्याहार्ने सिगार्नु र यसैलाई आधुनिक रंगशालामा परिणत गर्ने तर्फ हामी सबै जुटनु आवश्यक छ । किनकी नेपाली सेनाले यहाँ हुने कुनै पनि खेलकुदका गतिविधीहरु निर्वाध ढंगले चल्न दिएको छ । तसर्थ यसको निर्माणमा योजनाको तहमा जुटने देखि लिएर अबको विकास बजेटमा स्थान दिने दिलाउने तर्फ लाग्न जरुरी छ ।
माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले यही भदौबाट खेल मैदानको स्तरोन्नतिको लागि चौर रोप्ने योजना बनाएको छ । 
हामी सबै जुटेमा यो मैदान पनि खेल्न योग्य बन्न सक्छ र हाम्रो भावी योजना मुताविक मैदानको तल्लो भागमा प्याराफिट निर्माण अवस्य हुनेछ ।
अन्त्यमा यहाँहरुको जानकारीको लागि हाम्रो जस्तै भुगोल र हाम्रै जस्तो खेलमैदान भएको पाल्पामा नगरपालिका, जिविस, नेपाली सेना, उद्योग वाणिज्य संघ लगायत खेल सम्बद्ध संस्थाहरु मिलेर कसैले दूबो ल्याउने, कसैले कालोमाटो र वालुवा ल्याउने, कसैले चौर रोप्ने र कसैले पानी लगाउने जिम्मेवारी लिए र सोही अनुसार बनेको मैदान अहिले नमुना मैदा बनेको छ । स्मरण रहोस, सो मैदान पनि नेपाली सेनाको स्वामित्वकै मैदान हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment