अन्य स्थानमा समस्या आए परिवार नियोजन संघमा पुग्छन
इलाम, ७ असार : परिवार नियोजन संघ इलाममा एकै जना महिलाले छ महिनामा दुई पटक सम्म गर्भपतन गराउन आउने गरेका छन् । गर्भपतन गराउँदा आमाको स्वास्थ्य अवस्था कमजोर हुने र आर्थिक रुपले समेत हानी पु¥याउने भएपनि धेरै महिलाले गर्भ निरोधकको साधनकै रुपमा गर्भपतनलाई लिने गरेका छन् । गर्भ नबस्नका (रोक्न) लागि विभिन्न साधनहरु भए पनि तिनको प्रयोग बिना नै शारिरिक सम्पर्क गर्दा समस्या आउने गरेको हो । गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिन नहुने संघ इलामका वरिष्ठ शाखा प्रवन्धक कुमार गिरीले जानकारी दिए । उनका अनुसार कुनै पनि बेला गर्भ रहि गएमा वा बच्चा जन्माउने इच्छा नहुँदा–नहुँदै गर्भ बसेमा मात्र दुवैजना (महिला पुरुष)को सहमतीमा गर्भपतन गराउन मिल्छ । गर्भपतन गराउँदा दुवैजनालाई घाटा हुने गिरीको भनाई छ । महिलालाई स्वास्थ्य समस्या र पुरुषलाई आर्थिक समस्या हुने भएकाले पनि भरसक परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्नु पर्ने उनको भनाई छ । विवाह नगरी यौन सम्पर्क गर्दा र शुरुमा नै सावधानी नअपनाउँदा झनै समस्या आउने गरेको नियोजन संघकी शुमी सिंह बताउँछिन् । कहिले काहि उमेर ढल्केका छोरा मान्छेले १५, १६ वर्ष उमेर समुहका युवतीलाई लिएर समेत गर्भपतन गराउन आउने भएकाले यसमा बढि जसो पुरुषले नै सोच्नु र सावधानी पर्ने उनको भनाई छ ।
विवाह नै नगरी गर्भपतन गराउँदा परिवारमा आफु शारीरिक रुपमा तन्दुरुस्त देखाउन पनि निकै मेहनत गर्नु पर्ने र आवश्यक पौष्टिक तत्वको अभावले महिलाको स्वास्थ्य कमजोर हुने सिंह बताउँछिन् । अन्य स्थानमा गर्भ पतन गराउँदा समस्या निम्तिएर पनि परिवार नियोजन संघमा पुग्ने गरेको बताउँदै शुरुमा नै सुरक्षित गर्भपतन गराउने मान्यता प्राप्त अस्पताल वा केन्द्रमा जानु पर्ने उनी बताउँछिन् । सरकारले गर्भ रहेको १२ हप्ता सम्मको अवधिलाई गर्भ गराउन मान्यता दिएको छ । गर्भ रहेको आठ हप्ता भित्रको गर्भपतन स्टाफ नर्सले गराउन सक्ने भएपनि सो भन्दा माथीको गर्भपतन गराउन तालिम प्राप्त डाक्टर नै हुनु पर्ने बताइएको छ । परिवार नियोजनको इलाममा सात स्थानमा साप्ताहिक सेवा केन्द्रहरु छन् । यहाँका साङ्रुम्बा, नामसालिङ, शान्तिडाँडा, सुम्बेक, माइपोखरी, जीतपुर र इलाम नगरपालिका ५ भन्ज्याङमा साप्ताहिक रुपमा क्लिनक सञ्चालन भइरहेको निर्देशक गिरीले जानकारी दिए । जिल्लाको मंगलबारे, बरबोटे र साखेजुङको त्रिवेणीको सामुदायिक क्लिनकबाट हप्ताको छ दिनै सेवा सञ्चालन भइरहेको उनको भनाई छ ।
कतिले गराए गर्भपतन ?
कार्यालयको तथ्याङ्क अनुसार सन् २०१४ मा छ सय बाह् जनाले परिवार नियोजन संघ मार्फत गर्भपतन गराएका थिए । त्यस्तै सन् १५ मा पाँच सय छपन्न जनाले गर्भपतन गराएका थिए । त्यस्तै सन् १६को जनवरी देखी मार्च महिना सम्ममा एकसय सोह्र जनाले गर्भपतन गराएका छन् । नियोजनले तीन–तीन महिनामा यसको तथ्याङ्क संकलन गर्ने गरेको छ । अप्रिल यताको तथ्याङ् आइनसकेको जनाइएको छ । जो कोहिले सो संस्था मार्फत गर्भपतन गराए पनि गोपन्यता भंग नहुने कार्यालयले जनाएको छ । कसैले गर्भपतन गराए उसको नाम, थर आवश्यक नपर्ने जनाइएको छ । सो संथाबाट विषेशज्ञ डाक्टरहरुको सेवा सञ्चालन भइरहेको जनाइएको छ । परिवार नियोजनका अस्थाई साधनहरु निःशुल्क वितरण हुने गरेको समेत बताइएको छ ।
0 comments:
Post a Comment