परदेशिएका इलामे युवाको जन्मभूमिलाई साङ्गितिक कोसेली


इलाम, ४ असारः इलामलाई सिङ्गो देशले श्रष्टा र सिर्जनाको खानी स्विकार गरिसकेको छ । इलामे सर्जकहरुका अमिट कृति र सिर्जनाहरु आज नेपाली साहित्य र कला आकाशका उज्जल नक्षत्र बनेका छन् । यहि कला र गलाको श्रृङ्खलामा अर्का इलामे युवा थपिएका छन्, टङ्क भट्टराई, नेपाली लोक सङ्गीतमा नयाँ कोसेली लिएर । 
पुर्वोत्तर इलामको रमणीय गाउँ जमुनामा २०४२ सालमा जन्मिएका टङ्क स्कुले उमेर देखिनै लोक सङ्गीतमा औधी रुचि राख्थे । गाउँघरका मेला बजार र जमघटहरुमा टङ्कको स्वरबाट लोकगीत सुन्नेको ठूलै घुइचो लाग्थ्यो । बजारमा चल्तीका गीतहरु आफ्नो आवाजमा गुञ्जाएर वरिपरि झुम्मिएका दर्शकलाई मुग्ध पार्ने टङ्कले गत वर्ष आफ्नै सिर्जना रेकर्ड गराएका छन् । 
उनले आफ्नै शब्द संकलन र संगीतमा चर्चित लोक गायिका देविका घर्तीसँग गाएको ‘इलाम बजार आउनु है घुम्नलाई...’ बोलको लोकगीत अहिले पुर्वी नेपालका कुना कन्दरामा गुञ्जिरहेको छ । युट्युवमा समेत अपलोड गरिएको यो गीत अहिले सम्म छ हजार जना श्रोता तथा दर्शकले हेरेका छन् । यसैगरी इलाम ग्रीन फेसबुक पेजमा अपलोड गरिएको उनको यो भिडियो १७ हजार तीन सयजनाले हेरेका छन् । यो गीतप्रति आम इलामे श्रोताले देखाएको प्रतिक्रिया र सद्भावले आफुलाई नयाँ उर्जा दिएको टङ्कले बताए । 
हाल संयुक्त अरब इमिरेट्सको अवुधावीमा कार्यरत टङ्कले जन्मभूमि र बालसखाहरुको यादमा उक्त गीत रचेको बताए । ‘आफ्ना साथीसङ्गी र माटोको यादमा उक्त गीत गाएको हुँ’ उनको थपे, ‘यो गीतले मलाई इलामका सबै गाउँ हुँदै पुर्वका अन्य जिल्लामा समेत चिनाइ दियो, यति धेरै माया गर्ने श्रोताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
उक्त गीतले इलामका विभिन्न भुगोल र रीतिथितिहरुलाई उजागर गरेको छ । परदेशमा बस्नेहरुलाई उक्त गीतले आफ्नो जन्मभूमि र बाल्यकाल झनै ताजा गराइदिएको हाल संयुक्त राज्य अमेरिकामा बस्दै आएका टङ्कका स्कुले सहपाठी माधव गुरुङ बताउँछन् । उनी भन्छन्, ‘मेरा साथी टङ्कको लोकगायनले मन छोएको छ, उनले अझ उचाइ प्राप्त गर्दै जाउन्’ गुरुङ पनि पत्रकार तथा गीतकार हुन् । ‘बिस्र्यौ क्यारे तिमीले मलाई’ बोलको गुरुङको गीत लोकप्रिय तथा चर्चित छ ।
श्रोताको माया र प्रतिक्रियाले आफुलाई परदेशमा पनि नयाँ उमङ्ग दिएको टङ्क बताउँछन् । ‘इन्टरनेटले सबै दुनियालाई एकै ठाउँमा बसे जस्तो बनाइदिएको छ । यति टाढा पनि श्रोताको माया र शुभेच्छा पाउँदा मलाइ त आफ्नै गाउँमा रहेको अनुभूति हुन्छ’ उनी उत्साह पोख्छन् । नेपाली सङ्गीबाट टाढा हुन नसक्ने र आफुले सकेको योगदान सधैं नेपाली सङ्गीतलाई दिइरहने उनी बताउँछन् । नेपाली कला क्षेत्रका यी नवप्रतिभालाई चियाबारी दैनिकको पनि उत्तरोत्तर प्रगतिको कामना ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment