इलाम, ८ असारः इलाम नगरपालिकाको नगर यातायात गुरुयोजना बनिने भएको छ । यो गुरुयोजना सँगसँगै इलाम नगरपालिकाको भु–उपयोग योजना पनि निर्माण हुने भएको हो । इलाम नगरपालिकाले १९ लाख रुपैंयाँ खर्चेर इलाम नगरका लागि महत्वपूर्ण यी दुई योजना निर्माण गर्न लागेको हो । तीन महिनाको समयावधि भित्र गुुरुयोजना निर्माण सम्पन्न गर्न र चार महिना भित्र नगरपालिका भु–उपयोग योजना निर्माण सम्पन्न गर्न इलाम नगरपालिकाले शंखमुल काठमाडौंंको ग्रीड ग्यालेक्सी इसीएन जेभीसँग ठेक्का सम्झौता गरेको छ । गुरुयोजनामा ५ वर्षसम्मको लगानीको लागि सडकहरुलाई उपलब्ध श्रोत र प्राथमिकताको आधारमा कसरी विस्तृत लगानी गर्ने भन्ने विषय उल्लेख हुनेछ । गुरुयोजनामा कस्ता सडकहरु निर्माण गरिनुपर्छ भन्ने दिर्घकालीन योजनाहरु पनि उल्लेख हुने इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईले बताए ।
यसैगरी निर्माण गर्न लागिएको अर्को योजना नगरपालिकाको भु–उपयोग योजना निर्माण गर्ने जिम्मा पाएको ग्रीड ग्यालेक्सी इसीएन जेभीका इञ्जिनियर छविलाल अधिकारीले स्याटलाईट म्यापको प्रयोग गरेर इलाम नगरपालिका क्षेत्रमा जमिनको उपयोग के कसरी भएको छ भन्ने विद्यमान अवस्थितिको भु उपयोग नक्सा तयार पारिने बताए । यो योजना निर्माणका क्रममा माटोको परिक्षण, त्यसको क्षमता, जोखिमको मुल्यांकन गर्दै भविष्यमा हुने जमीनको उपयोगको आधारमा भु उपयोग क्षेत्रहरु निर्धारण गरिने उनले स्पष्ट पारे । उनले भने, ‘योजना निर्माणका क्रममा कृषि, वन, व्यापारिक, आवाशीय, पानीको श्रोत क्षेत्र र औद्योगिक क्षेत्रहरु भु उपयोग क्षेत्र अन्तरगत पर्नेे भएकोले नगर विस्तार र व्यवस्थित गर्ने सन्दर्भमा ति कुराहरुको क्षेत्रगत विकासलाई योजनामा समेटिने बताए ।
इलाम नगरपलिकाका अर्का इञ्जिनियर तथा शहरी शासन विज्ञ भिमसेन श्रेष्ठले चियाबारी दैनिकसँग कुरा गर्दै भने, ‘यस योजनाले सेवा क्षेत्रको आधारमा यातायातको क्षेत्रमा लगानी गरेर कस्तो उपलब्धि हासिल गर्ने भन्ने सम्मको तथ्य प्रस्तुत गर्नुका साथै १५ वर्षसम्मको वास्तविक स्वरुप गुरुयोजनाले प्रस्तावित गर्दछ ।’ गुरुयोजना निर्माण सम्पन्न भएपछि विभिन्न सम्बन्धित सरोकारवाला सहितको वृहत अन्तत्र्रिmयापछि कार्यान्वयन तालिका नै निर्माण गरि कार्यान्वयन शुरु गरिने इलाम नगरपालिकाका नगर अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए । एलजिसिडिपी कार्यक्रमबाट प्राप्त दिगो वस्ती विकासको पुर्वाधार तय गर्ने कार्यक्रम अन्तरगत विभिन्न योजनाहरु निर्माण गर्न लागिएको चियाबारी दैनिकसँग कुरा गर्दै नगर अधिकृतले जानकारी दिए ।
इलाम नगरपालिकाले बुधबार इलाम नगरपालिकाको नगर यातायात गुरुयोजना तथा भु उपयोग योजना निर्माण सम्बन्धि अभिमुखिकण गोष्ठीको आयोजना गरी योजना निर्माणको जानकारी गराएको थियो । नगरको यातायात गुरुयोजना निर्माण गर्दा भावी पुस्तालाई लक्षित गरि योजना निर्माण गर्नुपर्ने सडक तथा भवन निर्माण विज्ञ सुरेस नेम्वाङले सो कार्यक्रममा बताए् । इलाम नगरपालिकाले आयोजना गरेको इलाम नगरपालिकाको नगर यातायात गुरुयोजना तथा भु उपयोग योजना निर्माण सम्बन्धि अभिमुखिकण गोष्ठीमा आफ्नो विचार व्यक्त गर्दै नेम्वाङले समृद्ध राष्ट्रहरुले प्रगति गर्नुपछिको मुख्य कारण नै फराकिलो बाटो निर्माण गरिनु पनि भएको बताए । सोभियत संघ र सिंगापुरको उदाहरण दिदै उनले भने, ‘चौडा तथा फराकिला सडक नभएको शहरमा मानिसको मोविलिटी त्यसै कम हुन्छ, र त्यो शहर मृत शहर जस्तै हुन्छ ।’ नेपाली काङ्गे्रस इलामका जिल्ला सचिव निरोज खड्गीले सबै सरोकारवालाहरुको सुझाव सङ्कलन गरेर मात्र योजना निर्माण गर्न सम्बन्धितलाई सुझाए । कार्यक्रममा समाजसेवी कृष्ण श्रेष्ठ, एमाओवादीका रमण, एमालेका महेश बस्नेत, इलाम उद्योग बाणिज्य संघका आनन्द कट्टेल, क्रियाशील युवा व्यवसायी संघका प्रकाश चापागाई लगायतले कण्सल्टिङ फर्मलाई आफ्नो सुझाव दिएका थिए ।
0 comments:
Post a Comment