नगरपालिकाको नाकैमा हिल्याम्मे र धुलो तर पनि कुम्भकर्ण (तस्वीरहरु सहित)


इलाम, २४ असार । आजभोली इलाम बसपार्कबाट महानन्द चौक अर्थात चल्तीको नाम जिरो किलोमिटरसम्मको पैदल, मोटरसाईकल वा कुनै सवारी साधनमा यात्रा गर्दै हुनु हुन्छ भने दुईवटा कुरा महसुस हुनेछ । पहिलो उक्त समयमा पानी पर्दैछ भने कालोपत्रे भएको सडक कुनै धान रोप्न ठिक्क पारेको खेतको अनुभव । अनि त्यसमाथि सवारी साधन चिप्लिएर दुर्घटना हुने खतरा पनि त्यस्तै । अर्को अनुभव हो, सुख्खा मौसम छ भने उक्त सडकमा सवारी साधन आवतजावत गर्दा उड्ने बुङबुङ्गती धुलोले हिड्न नैं कठिनाई हुने । त्यति मात्र होईन सडक हिल्याम्मे भएको कारण त्यहाँ साना ठुला तीन÷चार वटा सडक दुर्घटना भईसकेको छ । 
धेरैले उक्त बाटोमा यात्रा गर्दा भोगेको यो कठिनाईलाई कसैले सरोकार नदिएको भन्दै सार्वजनिक स्थानहरुमा आक्रोस ओकल्नेहरु पनि प्रशस्त छन् । हुनपनि हो, इलाम सदरमुकामको तल्लो भेग भनेर चिनिने उक्त शहरी सडक खण्डको दुर्दशाले त्यस्ता सार्वजनिक सरोकारको विषयमा नियमन गर्ने निकाय समेत पीडित बन्दा सम्म केही गर्न सकेको छैन् । हालसालै आफ्नो नयाँ कार्यालय भवन निमाणको लागि ठाउँ छाडेर महिला जागरण संघको भवनमा सरेको इलाम नगरपालिका कार्यालयले सार्वजनिक बिदाको दिन देखि बाहेक हरेक दिन कि हिलोमाटोको ग्याँजग्याँजी सहनु पर्दछ कि आँखा बिझाउने धुलो । तर पनि सो कार्यालय मौन छ । कारण, कारण ति स्थानीय निकायहरु आफ्नै कारणले हो । 
पहिलो जिल्ला विकास समिति इलामको जनस्वास्थ्य कार्यालय नजिक रहेको आफ्नो जग्गामा स्काभेटर प्रयोग गर्दा निस्किएको माटो पशु हाट छेउको आदर्श उच्च माविको जग्गामा फाल्न लैजाने क्रममा ट्रयाक्टरले बाटोमा छरेको माटोको कारण त्यस्तो समस्या पैदा भएको हो । केहि दिन अघि त्यहाँको माटो टुँडिखेलमा चौर रोप्नको लागि लैजादा पनि रत्न वान्तवाको शालिक स्थलसम्म यस्तै समस्या उब्जिएको थियो । दोस्रो, इलाम नगरपालिकाको निर्माणाधिन भवनको गेटबाट निकालिएको माटो लैजाने क्रममा भानुपथ क्षेत्रमा पनि समस्या आएको हो ।

एक जना स्थानीयबासी भन्छन्– के गर्नु दिनरातको धुलो र हिलोले गर्दा व्यापार गर्न राखेको सामान नैं बिग्री सक्यो, उजुरी गर्ने भनेको स्थानीय निकायमा नैं हो । त्यसरी सार्वजनिक वातावरण बिगारेर काम गर्ने पनि त्यही निकाय नैं हो ।
केही हप्ता अगाडि आदर्श उच्च माविले पनि आफ्नो जग्गामा निस्किएको माटो फाल्दा छरिएर रहेको माटोबाट असुविधा भएपछि स्थानीय एक बासिन्दाले नगरपालिकामा दिएको उजुरीको सुनुवाई केहि घण्टामा नैं भएको थियो । म पनि हिजोआज कहाँ उजुरी दिउँ भनेर अलमलमा छु, एकजना नगरपालिका कार्यालयका छिमेकीले चियाबारीसँग गुनासो गरे ।
हामीले पुराना भवन भत्काउनको लागि निर्माण व्यवसायीलाई ठेक्का लगाईसकेका छौं, त्यस कारण त्यसबाट उत्पन्न हुने समस्याको निराकरण पनि निर्माण व्यवसायी कैं हो भन्छन् नाम नछाप्ने शर्तमा एक स्थानीय निकायका कर्मचारी । तर चियाबारी दैनिकले समस्या निवरण गर्नको लागि स्थानीय निकायले पहल गर्नु प¥यो नि भन्दा उनी मौन रहन्छन् ।
वि.सं. २०३३ साल तिर तत्कालिन आदर्श माविमा प्रवेशिका उर्तीण गरेका एकजना व्यक्तिलाई अहिलेको विद्यालय प्रशासन र व्यवस्थापन समितिले गरेको कामको शैलीमा पटक्कै चित्त बुझेको छैन् । उनी भन्छन्– विद्यालयको लागि भनेर कति दाताहरुले दिएको जग्गा जमीनहरु अहिले आफ्नै बाबुको बिर्ता सम्झेर ‘डम्पिङ साईट’ बनाउन दिएका छन् । तिनीहरुलाई के थाहा दानवीरहरुले के उद्देश्यले विद्यालयलाई जग्गा दान गरेका हुन ? उनी आक्रोश पोख्छन् । करोडौं मुल्य पर्ने जग्गा अहिले इलाम बजारबाट निस्किने थोत्रा घरहरुको खण्डहर फाल्ने स्थान बनेको छ आदर्श उच्च माविको जग्गा । तर आदर्शको यो गैर जिम्मेवारीपुर्वक क्रियाकलापको नियन्त्रण गर्ने न कुनै निकाय छ, न त राजनैतिक दल नैं, ती पुराना विद्यार्थीले भने ।
तिल्केनीबाट हरेक दिन दुध पु¥याउन आउने एक दुध किसान चियाबारी दैनिकको टिमसँग भन्छन्— पानी पर्दा हिलो नैं हिलो हुने, घाम लाग्यो भने धुलोले हिडिनसक्नु । दैनिकको यो दुर्दशा कसलाई भन्नु ? नगरपालिकालाई भनँु भने उ आफै मेरो जस्तै दुर्दशामा छ होला ? जिविस जाउँ भने म कोही पनि चिन्दिन । मैले चिन्ने भनेको तपाई पत्रकारहरु हो, लौन मेरो यो गुनासो सम्बन्धित निकायमा सुनाईदिनुसन् ।
कञ्चनजघा बौद्ध जेभी कन्स्ट्रक्सन कम्पनीले इलामको दुवै स्थानीय निकाय (जिल्ला विकास समिति र नगरपािलका) को नयाँ भवन निर्माण गर्ने ठेक्का पाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment