इलाम, २५ असारः इलाम जिल्लाकै बहुप्रतिक्षित इलाम नगरपालिका वडा नंं ७ स्थित महभीरमा रहेको पहरामा रक क्लाइम्बिङ गर्ने स्थल बनाउने योजना शनिबार देखि साकार भएको छ । महभीरको करिब चालीस मिटर अग्लो पहरामा शनिबार बिहान नेपाली सेनाका खेमबहादुर डाँगी र भवानी शंकर थापाले ओपन तथा अस्ट्रेलियन रेप्लिङ गरेर इलाम नगरको पर्यटन क्षेत्रमा कोशेढुङ्गा थप्न मद्दत पु¥याएका छन् ।
मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिको आर्थिक सहयोग, नेपाली सेना, कालीध्वज गणको प्राविधिक एवम जनशक्ति सहयोग तथा स्थानीय प्रगति युवा समाजको पहलमा उक्त क्षेत्रमा रक क्लाईम्बिङ, रक गार्डेन तथा बाल उद्यान निर्माण गर्ने परियोजना अन्र्तगत पहिलो चरणको रक क्लाइम्बिङको कार्य सम्पन्न भएको हो ।
विकास समितिको करिब दश लाख रुपैंयाँ र स्थानीय क्लब, उपभोक्ता समितिको चार लाख बाह् हजार रुपैंयाँको लागतमा निर्माण गरिएको उक्त परियोजनाको बाँकी बगैंचा तथा उद्यान बनाउने कार्य भने बाँकी रहेको छ । प्रगति युवा समाजले क्लाइम्बिङको योजना विगतका वर्षमा पनि बारम्बार उठान गर्ने गरेको तथा इलाम नगर परिषदमा पनि कुरा उठाउने गरेको थियो तर नगर परिषदले जहिले पनि क्लाइम्बिङको सम्भाव्यता अध्ययन भन्दै झारा टार्ने काम गर्दै आएको थियो । तर विकास समितिले यो परियोजना संचालन गर्नको लागि आर्थिक सहयोग गरेपछि दलबहादुर चौहानको अध्यक्षतामा एक उपसमिति निर्माण ग¥यो । यसरी उक्त उपसमिति र प्रस्तावक प्रगति युवा समाजको समन्वय र आपसी सहयोगमा इलाम नगरमा अर्को एउटा पर्यटकिय गन्तव्य थप गर्न सफल भएका छन् ।
परियोजना कार्यान्वयन गर्ने एक संस्था प्रगति युवा समाजका अध्यक्ष उमेशचन्द्र महत भन्छन्– ‘धेरै वर्ष अघि देखिको धोको पुरा भएको छ । अब हामी हाम्रा साथीहरुलाई रक क्लाइम्बिङको प्रशिक्षणमा पठाएर दक्ष जनशक्ति तयार पार्ने छौं, निकट भविष्यमा हामी रक क्लाइम्बरहरुको ईच्छा पुरा गर्नेछौं ।’ महत अगाडि थप्छन्– ‘हामीले योजना त प्राप्त ग¥यौं तर नेपाली सेनाको सहयोग प्राप्त नभएको भए ठुलो समस्या आउने रहेछ, तसर्थ हामी नेपाली सेनाले गरेको यो कार्यलाई ह्दय देखि नैं धन्यवाद दिन चाहन्छौं ।’ अर्का कार्यान्वयन संस्था उपभोक्ता समितिका अध्यक्ष दलबहादुर चौहानले भने– ‘यो अलिक जोखिमपुर्ण कार्य रहेछ । समाज र हामी उपभोक्ता समिति मिलेर चलाउने भरमग्दुर प्रयास गर्नेछौ । चलेन भने पनि सेनाको प्रयोगस्थलको रुपमा विकास गर्न सकिन्छ ।’
यस परियोजना सम्पन्न गर्नको लागि सहयोगी वरिष्ठ इन्जिनियर सुरेश नेम्बाङले नजिकै रहेको झर्ना र ठुलो पहरालाई पनि भविष्यमा सदुपयोग गर्नु पर्ने बताए । अहिलेको क्लाइम्बिङ क्षेत्रको नजिकै रहेको झर्नामा क्यानोनिङ गर्न सकिन्छ भने ठुलो पहरामा झोलुङ्गे पुल बनाएर ओहोरदोहोर गर्न सके धेरै आन्तरिक पर्यटकहरुलाई एउटा उत्तम गन्तव्य बनाउन सक्ने विचार राखे । रक क्लाइम्बिङ स्थल बनाउने इलामे चाहनालाई मुर्त रुप दिने मुख्य हात भने नेपाली सेनाको रहेको छ । केहि महिना अघि प्रगति युवा समाज, मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिको अनुरोधमा कालीध्वज गणका गणपति प्रमुख सेनानी प्रकाश लामिछाने, सेनानी हरीकुमार पाण्डे, चियाबारी दैनिकका प्रकाशक राजेश पराजुली, सम्पादक सुदिप श्रेष्ठ लगायतका टोलीले उक्त क्षेत्रको स्थलगत निरिक्षण गरेको थियो । त्यही समयमा प्रमुख सेनानी लामिछानेले रक क्लाइम्बिङका विज्ञ जनशक्ति नेपाली सेनाबाट उपलब्ध गराईदिने वचनवद्धता भएको थियो । सोही अनुरुप क्लाईम्बिङ विज्ञ खेमबहादुर डाँगी, भवानीशंकर थापा, कार्यान्वय संस्थाका सदस्यहरु तथा सेनाको थप मद्दतबाट करिब पैतालीस दिन लगाएर पहराको लेउ, झार, धाँस, रुख सफा गर्ने कार्य सम्पन्न भयो । क्लाइम्बर थापा भन्छन्– ‘सबै भन्दा दुःख लाग्दो समय भनेको डोरीमा झुण्डिएर पहरा सफा गर्दा लागेको समय नैं हो, त्यो बेला काम सकेर राती सुत्दा जस्तो पोजिशनमा सुतेको हुन्थे त्यही पोजिशनमा उठ्दथे । तर आज त्यो मेहनतको फल प्राप्त भएको छ । अब अझै त्यो पहरालाई पानीले धोएर सफा गर्नुछ ।’ अर्का क्लाइम्बर डाँगी भन्छन्– ‘काम त अझै सकिएकै छैन नि, त्यहाँ चढ्ने ओर्लने स्थानमा संकेत चिन्हहरु बनाईदिनु पर्दछ जसले गर्दा क्लाइम्ब गर्नेहरुलाई सहज हुन्छ ।’ डाँगी थप्छन्– ‘यसक्षेत्रमा अझै साना–ठुला पहराहरु प्रशस्त छन । भर्खर सिक्न चाहनेहरुको लागि सानो पहरा उचित हुन्छ, राम्ररी चढ्न ओर्लन थालेपछि अहिलेको पहरा ठिक छ, अनि परको ठुलो पहरा त ओलम्पिक सम्मको प्रतियोगिता संचालन गर्न सकिने किसिमको छ ।’ मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले भने– ‘रक क्लाइम्बिङको इलाममा अब सफल परिक्षण सम्पन्न भएको हो । केहि समयपछि यसको औपचारिक उदघाटन कार्यक्रम हुनेछ, यसमा सबैलाई बोलाएर रक क्लाईम्बिङ र रेप्लिङको प्रस्तुतिहरु देखाउने छौं ।
0 comments:
Post a Comment