पहिरोले तमोर नदी थुनियो,नदीको धार परिवर्तन हुँदा तीन बजार जोखिममा


ताप्लेजुङको सावादिन गाविसमा गएराति गएको पहिरोले तमोर नदी थुनिएर खोलाको धार परिवर्तन हुँदा नदी किनारमा रहेका तीनवटा बजारहरु जोखिममा परेका छन् ।
खोला थुनिएरे फुरुम्बु गाविसमा रहेको मितलुङ बजार नजिकै भएर बग्न थालेपछि मितलुङ बजार सहित तमोर नदी किनारमा रहेका हान्द्रुङ र दोभान बजार पनि जोखिममा परेका छन् ।
राति करीव दुई बजेको समयमा तमोर नदी पारी सावादिन गाविसको नाक्ला भिरबाट पहिरो झरेपछि तमोर नदी केहि समय थुनिएको थियो ।
अहिले मितलुुङ बजारका स्थानीय बजार छाडेर माथिल्लो भागमा सर्न थालेका छन् भने दोभान र हान्दु्रङका स्थानीयलाई पनि सचेत भएर बस्न आग्रह गरीएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शैलेन्द्रकुुमार यादवले बताए ।
मितलुङ बजारमा २१ घर रहेका छन् भने हान्द्रुङमा ३० भन्दा बढी र दोभानमा ७० भन्दा बढी व्यापारीक घरहरु रहेका छन् । घटना स्थलमा सिवा प्रहरी चौकीबाट प्रहरी पुगिसकेको प्रमुख यादबले बताए । अहिले खोलाको धार परिवर्तन भई बग्न सुरु भए पनि थुनिएको भाग पूर्ण रुपमा नखुलेकाले सँगै रहेको मितलुङ बजार सहित केहि किलोमिटर तल नदी किनारमा रहेको दोभान र हान्द्रुङ बजार पनि जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मितलुुङ बजारमा रहेका स्थानीय चन्द्र तामाङले मितलुङ बजारको तल्लो भाग पुरै थुनेर पानी बस्तीमा पस्न थालेको बताए। उनका अनुसार नदी थुनिएर बनेको पोखरीको भागबाट पानी निकास हुन थालेको भएपनि थप पहिरो झर्ने क्रम जारी रहे बस्ती बगाउने संभावना उच्च रहने बताए ।
अहिले मितलुङ बजार नजिकैको जिवन लाबुङ र दिलबहादुर लाबुङको घर डुवानमा परेको छ भने जिवन लाबुङको एक हल गोरु रातिनै बगाएको प्रहरीले बताएको छ । क्षतिको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment