इलाम, ३ भदौ ः जिल्ला विकास समिति इलामको नाममा रहेको मे७प १२५० नम्बरको स्कुटी महिनौ देखि जिविस कार्यालय पसिरमा छैन । न त कुनै जिविसका अन्य कर्मचारीले लगेका छन् । एलजिसिडिपी परियोजनामा महिला कर्मचारी रहदा वि.सं.२०७१ सालमै खरिद गरेको होण्डा कम्पनिको पुरानो मोडलको डियो स्कुटी कहाँ गायब भयो त ?
आम जनताको आँखामा छारो हाल्न जिविस इलामले रातो नम्बर प्लेट हालेको सो स्कुटी योजना अधिकृत छविलाल खतिवडाले बुझेर लगेका रहेछन् । उनी योजना अधिकृत भएयता नै जिविसको स्कुटी उनले लगेका हुन् । स्कुटी लगेपछि खतिवडाकी श्रीमती र आफन्तलाई स्कुटी सिक्न सजिलो भएको छ । इलामको जिरो किमी र तिल्केनी आसपासमा सधै देखिरहेने शिकारु स्कुटर त्यही जिविसको भएको त्यहाँका स्थानीयले बताए । यो समाचार तयार पार्दासम्म पनि सो स्कुटी खतिवडाको निवासमै भेटिएको छ । घरको पेटीमा राखिएको स्कुटीको तस्विर र भिडियो चियाबारी दैनिकसँग सुरक्षित छ । खतिवडासँग समाचारका विषयमा पटक पटक फोन सम्पर्क गर्दा उनको फोन लागेन ।
एक स्थानीयले भने, ‘यहि सडकमा त्यो स्कुटी धेरैजनाले सिकिरहेका हुन्छन् ।’ जिविस इलामले स्कुटीमा सेतो नम्बर प्लेट हाल्नुपर्नेमा रातो नम्बर प्लेट हालेर सरकारी सामान्य नियमको समेत धज्जी उडाएर श्री ५ बन्न खोजेको नागरिक प्रतिक्रिया छ । रातो नम्बर प्लेट हालेपछि आम नागरिकको सवारी साधन सो सरह घरमै पनि स्कुटी राख्न सकिने भएकोले जिविसका पहुँचवाला अधिकृतहरु मध्येकै कसैको प्रभावमा सो स्कुटीमा रातो नम्बर प्लेट हालेको जानकारहरु बताउँछन् । सवारी साधनको किलोमिटर देखाउने माइल मिटरको आधारमा रेकर्ड अद्यावधिक गर्ने सामान्य नियम समेत जिविस इलाममा छैन ।
यस विषयमा निमित्त स्थानीय विकास अधिकारी ओमराज ढुंगानासँग सम्पर्क गर्दा रातो प्लेट र सेतो प्लेटको विषयमा आफुलाई थाहा नभएको बताए । उनले योजना अधिकृतले स्कुटी बुझेर लगेको सत्य भएको बताए ।
0 comments:
Post a Comment