सूचना दिवसकै सूचना जिविसले किन लुकायो ? सञ्चारकर्मीसँग दुरी राख्दै जिविस इलाम

चियाबारी डेस्क

इलाम, ३ भदौ :  जिल्ला विकास समिति इलामले सूचनालाई प्रवाह गर्ने निकाय अर्थात पत्रकारहरुलाई कुनै जानकारी नदिई शुक्रबार राष्ट्रिय सूचना दिवस मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दहालले सूचना प्रदान गर्न सरकारी निकायलाई कञ्जुस्याई नगर्न निर्देशन दिइरहदा जिविस इलामले सूचना दिवस मनाउने कार्यक्रमनै सञ्चारकर्मीलाई गुमराहमा राखि लुकेर कार्यक्रमको आयोजना गरेको हो । जिविस सहित अन्य उपस्थित कार्यालयहरुले सञ्चारकर्मीहरुलाई नै गुमराहमा राखी सूचना लुकाउने कर्मकाण्डी कार्यक्रम आयोजना गर्नुले सूचनाको हक कार्यान्वयनमा गम्भीर शंका उत्पन्न भएको छ । जिविसको यो कदमको नेपाल प्रेस युनियनका अध्यक्ष तोयानाथ भट्टराईले भत्र्सना गरेका छन् । यसै गरि प्रेस सेण्टर इलामका जिल्ला अध्यक्ष राजेश पराजुलीले सञ्चारकर्मीलाई गुमराहमा राख्नु जिविसको कालो रुप भएको प्रतिक्रिया दिए । प्रेस चौतारीका अध्यक्ष कोकिला ढकालले लुकेर कार्यक्रमको आयोजना गरेर जिल्लामा भएका कार्यालयहरुले सूचनाको हक पालनाको स्थिति कस्तो छ भन्ने जानकारी पाउनबाट आम जनता बञ्चित गराएको प्रतिक्रिया दिइन् । हालको अवस्थामा विभिन्न सरकारी कार्यालयहरुले कार्यक्रममा सञ्चाकर्मीहरुलाई भरसक उपस्थिति नगराउने गरेको आफुले पाएको बताईन् । 
इलाम जिल्लामा कार्यरत पत्रकारहरुको सामाजिक संजाल फेसबुक समुहमा शुक्रबार सूचना दिवसको कार्यक्रम बारे जानकारी लिन चासो राख्दै प्रतिक्रियाहरु आदनप्रदान भईरहेको थियो । तर त्यसमा कुनैपनि सञ्चारमाध्यमले पनि उक्त दिवस मनाउने सम्बन्धमा कुनै जानकारी प्राप्त नगरेको र जिविस इलामले बिहान कार्यक्रम आयोजना गरेको गाईंगुई सम्म सुनेको प्रतिक्रिया दिएका थिए । यस दिवस बारे शुक्रबार बिहान चियाबारी दैनिकले जानकारी लिनको लागि निमित्त स्थानीय विकास अधिकारी ओमराज ढुंगानालाई सम्पर्क गर्दा उनले तपाईहरुको संस्था (नेपाल पत्रकार महासंघ) का अध्यक्षलाई सोध्नुस्, यहाँ गुनासो गर्न नआउनुस् भन्ने गैर जिम्मेवारीपुर्ण जवाफ दिएका थिए । सरकारी कर्मचारीले जे गरेपनि हुन्छ भन्ने रवाफिलो भाकामा उनी प्रस्तुत भएका थिए । यता पत्रकार महासंघका अध्यक्ष रोहितचन्द्र भट्टराईले आफुलाई कार्यक्रमको समन्वय गर्ने जिम्मा नपाएको स्पष्ट पारे । आफुलाई समेत एसएमएस मार्फत कार्यक्रमको निम्तो मात्र आएको उनले जानकारी दिए ।  नेपाल पत्रकार महासंघ इलाम शाखाका पुर्व अध्यक्ष सटेन्द्र्र जवेगु र पूर्व कोषाध्यक्ष सुदिप श्रेष्ठले स्थानीय विकास अधिकारी मदन कोइरालालाई भेटेरै कुनैपनि कार्यक्रममा सञ्चारकर्मीलाई पत्रचार गर्दा अस्तित्वमा रहेका सञ्चारगृहलाई बोलाउन २ महिना अघि मौखिक अनुरोध गरेको थियो । एलडिओ कोइरालाले अबदेखि योजना अनुगमन होस् या कुनै अन्य कार्यक्रम, सञ्चारगृहलाई निम्तो दिने बोलेका थिए । 
लुकेर कार्यक्रम गर्दा जिविसलाई के फाइदा
तर एलडिओ कोइरालाले बोलेको कुरा किन उनैले पालना गरेनन्, उत्तर स्पष्ट छ, उनी सञ्चारकर्मीसँग दुरी राख्न चाहन्छन् । ठेकेदार र राजनीतिकर्मीले घेरिएर बस्न रुचाउने उनी सञ्चारकर्मीसँग दुरी मेण्टेन गर्न खप्पिस छन् । सूचना दिवस मनाउने कार्यक्रममा सञ्चारकर्मीलाई उपस्थित गराएर सूचनाको हकको विषयमा चर्चा गरे सञ्चाकर्मीमाझ सूचना सम्बन्धि ज्ञान पुनर्ताजगी हुने हो कि भन्ने डर जिविस इलामले पालेको छ । सञ्चारकर्मीले सूचना माग गरे वा जिविसले सूचना प्रदान गर्न परे जिविस इलामभित्रका वेतिथिहरु सार्वजनिक हुने र जनताले सो कुरा थाहा पाउने भय जिविससँग छ । सञ्चाकर्मीलाई कार्यक्रममा सहभागी नगराए सूचनाको हकको चर्चा समेत नहुने भएरनै जिविसले कर्मकाण्डी कार्यक्रमको आयोजना ग¥यो । उता कार्यक्रममा सहभागी विभिन्न कार्यालयका सूचना अधिकारीहरुले हालको सूचनाको हकको अवस्थाबारे कार्यक्रममा बोल्नुपर्ने हुन्थ्यो । बोलेको तिनै कुरामध्ये आम जनसरोकारको विषय समाचारको विषय बन्ने डरले पनि जिविसले लुकेर कार्यक्रम गरेको हो ।
सरकारी कार्यालयले सञ्चारकर्मीसँग दुरी राख्न खोज्नु सञ्चारकर्मीकै लागि राम्रो विषय भएको पत्रकार डाक्टर देवीक्षेत्री दुलालले बताए । मोफसलको पत्रकारीताको लामो अनुभव भएका डा. दुलालले सूचना लुकाउन खोज्ने वित्तिकै लुकाउनेमा केहि दोष भएको अनुमान गर्न सकिने बताए । सञ्चारकर्मीले सोहि लुकाउन खोजेको विषयलाई स्थलगत अनुसन्धान गरेर सप्रमाण आम जनतासामु विषयबस्तुलाई सार्वजनिक गर्नुपर्ने उनले सुझाव दिए । सूचनाको हक सम्बन्धि ऐन लागु भएको सम्झनामा हरेक भदौ ३ गते देशभर सूचना दिवस मनाईने गरिन्छ । सूचनाको हक सम्बन्धी ऐन वि.सं. २०६४ साल साउन ५ गते प्रमाणित भएर वि.सं. २०६४ भदौ ३ गते देखि देशभर लागु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment