पार्किङ शुल्क बृद्धिको विरोधले नगरको यातायात प्रणाली अस्तव्यस्त


इलाम, २७ साउनः इलाम नगरपालिकाले सवारी साधनमा लगाएको पार्किङ शुल्कको विरोधमा यातायात व्यवसायीहरुले गरेको विरोध कार्यक्रमबाट बिहीबार नगरको यातायात क्षेत्र अस्तव्यस्त हुन पुग्यो । इलाम नगरपालिकाले चालु आ.व. २०७३÷०७४ बाट लागु हुनेगरी सवारी साधनको पार्किङ शुल्क गत आर्थिक वर्षहरू भन्दा दोब्बर बनाएको भन्दै नगरक्षेत्रमा चल्ने सवारी साधन जिप, बस, टेक्सी, ट्रेक्टर, पिकअप संचालक व्यवसायीहरु बिहीबार आन्दोलनमा उत्रिएका हुन् । विभिन्न सवारी साधनका व्यवसायीहरूले बुधबार नै संयुक्त विज्ञप्ति जारी गरी बिब्ल्याँटेबाट आउने सवारी इलाम बजार प्रवेश नगरी धोबधीारा तथा माइखोलाबाट आउनेलाई महानन्द चोक (जिरो किलोमिटर) सम्म मात्र आउने जानकारी दिएका थिए । स्थानीय स्वायत्त शासन नियमावली अनुसार इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले तत्कालै निर्णय नसच्याए आन्दोलन जारी रहने एक यातायात व्यवसायीले बताएका छन् ।
नगरपालिकाले यस आ.व.बाट जिल्ला बाहिरिने साना सवारी साधनलाई ८७ रुपैंयाँ ७५ पैसा, बस, ट्रक लगायतका ठुला सवारी साधन, पर्यटक सवार सवारीलाई १ सय १३ रुपैंयाँ, भारतीय सवारीलाई २ सय २३ रुपैंयाँ, स्थानीय रुटमा चल्ने भ्यानलाई ३३ रुपैंयाँ ९० पैसा, पिकअप र ट्रेक्टरलाई ८५ रुपैंयाँ शुल्क कायम गरेको छ । यसअघि ति साधनहरुमा क्रमशः ५०, ८५, १००, २० र ५० रुपैंयाँ शुल्क लिइदै आएको थियो । इलाम नगरपालिकको २०औं नगरपरिषद्बाट चालु आ.व.का लागि नगरका विभिन्न व्यवसाय र क्षेत्रमा गतको भन्दा ५ सय भन्दा बढि प्रतिशतसम्म कर र शुल्क बढाएको थियो । सो निर्णयविरुद्ध व्यवसायीले आन्दोलन गरेपछि साउन १४ गते २१औं विशेष नगरपरिषदबाट करको दर हेरफे गरेको थियो । तर, त्यसपछि पनि व्यवसायको वर्गीकरणका आधारमा कर पुर्ननिर्धारण गरिएकाले कतिपय व्यवसायीले २०औं नगर परिषद्ले तोकेभन्दा अझ बढी कर तिर्नुपर्ने व्यवसायीको गुनासो छ । यता नगरपालिकाले भने स्थानीय स्वायत्त शासन नियमावलीको १ सय ४३, अनुसूची १९ को बुँदा २ अनुसार नगर परिषदको निर्णयबाट पार्किङ शुल्क लगाएको जनाएको छ । 
सास्तीमा सर्वसाधारण
बिहीबार इलाम सदरमुकाममा लाग्ने सबै भन्दा ठुलो साप्ताहिक हाट हो । हाटमा सामान बिक्री गर्न आउने व्यापारीहरु गन्तव्यमा पुग्न नपाएपछि अलपत्र परे । उनीहरुले बिक्रीको लागि ल्याएका सामाग्रीहरु बोकर पैदल हिड्न बाध्य समेत भएका थिए, त्यस माथि सोही समयमा परेको पानीले ठुलो सकस दिएको थियो । गोदकबाट तरकारी बोकर आएका बोलबहादुर मगर सकी–नसकी प्लाष्टिक ओडेर काँधमा भारी बोक्दै सुन्तलाबारीको बाटो हिड्दै थिए । नामसालिङका दिलेश्वरा भट्टराई निधारमा पसिना बगाउँदै थुन्से बोकेर उकालो लाग्दै थिईन् । उता धारापानीबाट आएका धर्मा लिम्बु निथ्रुक्कै हुँदै पानीले भिजेका तरकारी जसोतसो बजार सम्म ल्याई पु¥याईन् । तरकारी बजार लाग्ने स्थानमा भने व्यापारीहरु तरकारी लिएर आई नपुगेकाले बिहान तरकारी किन्ने क्रेताहरु तरकारी नपाईने भयमा भौतारिरहेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment