इलाम, १ भदौः इलाम जिल्लामा पहिलोपटक आयोजना गरिएको एक महिने लामो बास्केटबल प्रशिक्षण बुधबार सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरि तालिमको समापन गरिएको हो । जिल्ला बास्केटबल संघ इलामले इलाम नगरपालिका स्थित बिभिन्न बिद्यालय तथा क्याम्पसका बिद्यार्थीहरुलाई लक्षित गरि तालिमको सञ्चालन गरेको हो ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष जितबहादुर राईको प्रमुख आतिथ्य तथा जिल्ला शिक्षा अधिका री रामप्रसाद पाण्डेको बिशेष आतिथ्यता सम्पन्न औपचारिक समापन कार्यक्रममा अतिथिहरु तथा समाजसेवीहरु हिमालय कर्माचार्य, महेश बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, एसपी सुशिल यादव, पत्रकार धर्म गौतम लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । एक महिनासम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा बिभिन्न बिद्यालय तथा क्याम्पसका गरी एकसय जना भन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो । बास्केटबलका पूर्वाञ्चल प्रशिक्षक बिकाश चाम्लिङ प्रमुख प्रशिक्षक रहेका थिए भने युगल लिम्बूका साथै रोहन आचार्य समेतले प्रशिक्षण दिएका थिए । कार्यक्रमको अध्यक्षता गरेका तथा जिल्ला संयोजक समेत रहेका रोहन आचार्यले इलामे युवाहरुको उत्साहप्रद सहभागिताले कार्यक्रम सफल भएको बताए । उनले भने “यो एक महिने प्रशिक्षण कार्यक्रम त शुरुवात मात्र हो, आगामी दिनमा समेत जिल्लामा बास्केटबल खेललाई लोकप्रिय बनाउने काममा निरन्तर रुपमा लाग्ने र केही समय पश्चात नै बिद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने लक्ष्य राखेका छौं ।” तस्वीर ः सुवास चौधरी
0 comments:
Post a Comment